ग्लोबल आइएमई बैंकका सीईओको वार्षिक आम्दानी १.३९ करोड, अध्यक्ष र सञ्चालकले २८ लाख १८ हजार रुपैयाँ भत्ता बुझे
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बज्राचार्यले एक बर्षमा १ करोड ३९ लाख रुपैयाँ भन्दा बढी तलव सुविधा बुझेका छन् । बैंकले सार्वजनिक गरेको १५ औँ वार्षिक प्रतिवेदनमा बैंकका सीईओ रत्नराज बज्राचार्यले गत आर्थिक बर्ष २०७७–७८ मा १ करोड ३९ लाख ७८ हजार २ सय रुपैयाँ तलव तथा अन्य सुविधा बुझेका हुन् ।
जसमा बैंकका सीईओ बज्राचार्यले तलब बापत ७३ लाख ३२ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै, भत्ताबापत ४८ लाख ६० हजार रुपैयाँ, सञ्चय कोष ७ लाख ३३ हजार २ सय रुपैयाँ र दशै भत्ता बापत १० लाख ५३ हजार रुपैयाँ गरी कूल १ करोड ३९ लाख रुपैयाँ भन्दा बढी रकम बुझेका हुन् ।
जसमा एक महिनाको तलव तथा सेवा सुविधा कामु सीईओ महेश ढकालले बुझेका प्रतिवेदनमा उल्लेख गरिएको छ । १ श्रावण २०७७ देखि ३२ श्रावणसम्म एक महिनाको तलब भत्ता तथा अन्य सुविधाहरु कामु सीईओ ढकालले बुझेको बैंकले जनाएको छ ।
सीईओ बजाचार्यले अन्य सुविधाहरु अन्तगर्त टेलिफोन र मोबाईल खर्चको लागि ५७ हजार ३९० रुपैयाँ, सवारी साधन मर्मतका लागि १९ हजार ४२० रुपैयाँ र इन्धनको लागि १२ हजार ४ सय रुपैयाँ बुझेका छन् ।
त्यस्तै, समीक्षा अवधिमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरुलाई बैठक भत्ताबापत २८ लाख १८ हजार रुपैयाँ र सञ्चालक समितिस्तरिय समितिका सदस्यहरुलाई बैठक भत्ता बापत जम्मा १० लाख ६५ हजार रुपैयाँ (लेखापरीक्षण समिति सहित) प्रदान गरिएको छ
समिति बैठकहरुको लागि १५ लाख २३ हजार ६६ रुपैयाँ भएको छ । त्यस्तै, लेखापरीक्षकको पारिश्रमिक बापत २८ लाख ५८ हजार ९ सय रुपैयाँ प्रदान गरिएको बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैंकले सञ्चालक समितिका अध्यक्षलाई बैठक भत्ता बापत १७ हजार रुपैयाँ, सञ्चालक सदस्यहरुलाई सञ्चालक समितिको बैठक भत्ता बापत १५ हजार रुपैयाँ र संचालक समितिस्तरिय समितिहरुमा सहभागी सञ्चालक समितिका सदस्यलाई १५ हजार रुपैयाँ बैठक भत्ता प्रदान गर्ने गरेको छ । त्यस्तै, बैंकले संचालकलाई पत्रपत्रिका तथा यातायात सुविधा वापत मासिक १० हजार रुपैयाँ, दिने गरेको छ ।












