मोेदी जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरु
काठमाडौं । मोेदी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको छ । कात्तिक अन्तिम सातादेखि परिक्षण उत्पादन थालेको उक्त आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि व्यावसायिक उत्पादन शुरु गरेको हो ।
पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकास्थित मोदी खोलामा निर्मित २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि व्यवसाय शुरु गरेको हो ।
आयोजनाको विद्युत् करिब ५ सय मिटर टाढाको प्रसारण लाइनमा जोडिएको छ । २०६९ साल साउनमा निर्माण कार्य शुरु गरेको उक्त योजनाको लागत इस्टिमेट ३ अर्ब ६० करोड रुपैयाँ थियो । आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो । तर आयोजनाले निर्धारित समयभन्दा करिब साढे ४ वर्ष ढिला उत्पादन गरेको हो । २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो ।
आयोजनाबाट २०७५ असारमा विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण आयोजना निर्माणमा ढिलाई भएको कम्पनीले जनाएको छ ।













