साहसिक निर्मल पुर्जा वर्ल्डलिङ्कका सद्भावना दूत

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ ।
योसँगै वर्ल्डलिङ्कको इन्टरनेटको स्पीड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक १ हजार २ सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
‘वर्ल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको इन्टरनेट स्पीडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरूप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,’ वर्ल्डलिङ्कका निर्देशक मनोज अग्रवालले भने ।
विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पीड ८० एमबीपीएस हाराहारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ । साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको वर्ल्डलिंक नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।
साहसिक निर्मल पुर्जा वर्ल्डलिङ्कका सद्भावना दूत
आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वर्ल्डलिङ्कको सद्भावना दूत नियुक्त भएका छन् । बुधबार आयोजित कार्यक्रमका बीच वर्ल्डलिंक पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।
पुर्जाको हिमाल आरोकार सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ ईज इम्पोसिबल’ केही साता अघि मात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो ।