त्रिभुवन भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन, ३ सातामा ११३ केजी सुन भित्रियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

त्रिभुवन भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन, ३ सातामा ११३ केजी सुन भित्रियो



मानमति पन्त

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पाँच महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । जुन पाँच महिनामा ११७ प्रतिशत राजस्व संकलन गरेको हो ।

चालु आर्थिक बर्षको साउन देखि मंसिरसम्मको भन्सार कार्यालयको राजस्व संकलनको लक्ष्य ९ अर्ब ८३ करोड ८७ लाख ९२ हजार रुपैयाँ रहेको थियो । मंसिर सम्म ११ अर्ब ४८ करोड ५१ लाख ९७ हजार ९८२ रुपैयाँ राजस्व संकलन भइसकेको छ । जुन पाँच महिना अर्थात मंसिरसम्म लक्ष्य भन्दा १ अर्ब ६४ करोड ६४ लाख ५ हजार ९८२ रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

मंसिर महिनामा मात्र भन्सार कार्यालयले १०५ प्रतिशत राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । उनले भने, ‘मंसिर महिनामा मात्र १ अर्ब ९२ करोड ८८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । तर हामीले २ अर्ब ३ करोड २८ लाख २० हजार ६३९ रुपैयाँ राजस्व संकलन गरेका छौं ।’ जुन भन्सार कार्यालयले लक्ष्य भन्दा १० करोड ३९ लाख ५२ हजार ६३९ रुपैयाँ संकलन गरेको हो ।

गत आर्थिक बर्ष भन्सार कार्यालयले १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने बार्षिक लक्ष्य राखेको थियो, जुन पाँच महिनामा ८३ प्रतिशत मात्र राजस्व संकलन गरेको थियो । तर चालु आ.व.मा २३ अर्ब १५ करोड रुपैयाँ बार्षिक राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पाँच महिनासम्म ११७ प्रतिशत संकलन गरिसकेको उनले जानकारी दिए । प्रमुख भट्टराईका अनुसार टिम वर्क, नैतिक बल, टिम मोटिभेट लगायतका कारणले हामीले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएका हौ । भन्सार कार्यालयबाट विशेष गरी सुन, चाँदी, हिरा, मुंगा, ल्यापटप, कम्प्युटर, टिभी लगायतका अन्य सामान आयात हुने गरेको छ ।

तीन हप्तामा ११३ केजी सुन आयात, १० करोड ७७ लाख राजस्व संकलन

त्रिभुवन विमानस्थलबाट तीन हप्तामा करिब ११३ केजी सुन नेपाल भित्रिएको छ । मङ्सिर १३ गतेदेखि पुस ४ गतेसम्म दुई हजार ५०४ जना यात्रुले करिब ११३ केजी सुन नेपाल ल्याएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार विभागका अनुसार बितेको तीन हप्तामा दुई हजार ५०४ जना यात्रुले करिब ११३ केजी सुन नियन्त्रणमा ल्याएको जनाएको छ ।

जसमा दुई हजार ३७६ जना यात्रुले करिब १०८ केजी सुन राजश्व तिरेर लगेका छन् भने बाँकी ५ केजी सुन भन्सार कार्यालयको लकरमा रहेको छ । उक्त बाँकी रहेको सुन ६० दिनभित्र भन्सार तिरेर लैजान सकिने प्रमुख भट्टराईले जनाएको छ ।

हालसम्म भित्रिएको सुनको बजार मूल्य करिब ८८ करोड ९६ लाख रुपैयाँ रहेको प्रमुख भट्टराईले जानकारी दिए । यस अवधिमा सुनबाट मात्रै करिब १० करोड २९ लाख राजश्व संकलन भइसकेको छ । त्यस्तै जाँचपास हुन बाँकी रहेको ५ केजी सुनको राजश्व संकलन हुन बांकि रहेको छ । यस अवधिमा सुनबाट मात्रै त्रिवि भन्सारले करिब १० करोड ७७ लाख राजश्व संकलन भएको उनले बताए ।

अवैध सुन आयात भएको देखिएपछि अर्थ मन्त्रालय र मातहतको भन्सार विभाग तथा त्रिवि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी शुरु गरेको थियो । सुरुवाती दिनमा दैनिक २१ केजीसम्म सुन भित्रिएकोमा पछिल्ला केही दिन यता सुन भित्रिने क्रम घटेको विभागले जनाएको छ । पहिलो हप्ता करिब ७३ केजी सुन नियन्त्रणमा लिइएकोमा दोस्रो हप्ता २१ केजी र तेस्रो हप्ता लगभग १९ केजी सुन भित्रिएको छ ।

भन्सार विभागका अनुसार सुन ल्याउने तीन प्रकारका भिसाधारी रहेको पाइएको छ । जसमा वैदेशिक रोजगारमा गई स्वदेश फर्किदा व्यक्तिगत प्रयोजनका लागि सुन खरिद गरेर नेपाल ल्याउने १० प्रतिशत, पर्यटन भिसामा विदेश गई व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउनेको सङ्ख्या १० प्रतिशत र वैदेशिक रोजगारबाट फर्किदा भरियाको रूपमा अन्य व्यक्तिको सुन लिएर फर्किनेको सङ्ख्या ८० प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्