कर्जाको ब्याजदर बढ्ने निश्चित छ, साना ऋणीलाइ प्रोटेक्सन गर्छाैंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको बताएका हुन् । तर, राष्ट्र बैंकले ब्याजदर बढेपनी साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउने उनले बताए ।
अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताएका हुन् । उनका अनुसार असार मसान्तसम्म औसत ८.८३ प्रतिशत रहेको कर्जाको ब्याजदर कात्तिक मसान्तसम्म ९.१ प्रतिशत पुगेको छ ।
अहिलेको तरलता संकट अघिल्ला वर्षका झैं नभएको उनले बताए । गभर्नर अधिकारीले तरलता संकट अघिल्ला वर्षको झैं नभएर दीर्घकाल भएको बताए । गभर्नर अधिकारीले भने, “अघिल्ला वर्षहरुमा पनि तरलता समस्या हुन्थ्यो तर, यो वर्ष भने बैंकिङ प्रणालीमा दीर्घकालीन तरलता समस्या हुने देखिएको छ, चालू आर्थिक वर्षको सुरुवातबाटै देखिएको तरलता समस्या अझै लम्बिने संकेत गरेको छ ।” राष्ट्र बैंकले पनि व्यवस्थापनका लागि धेरै मौद्रिक उपकरण प्रयोग गरिरहेको उनको भनाई छ ।
उच्च आयातको प्रभाव तरलतामा परेको उनले बताए । ‘उच्च आयातको प्रभाव सञ्चितिमा, सोधनान्तर र चालु खातामा मात्रै नभएर तरलतामा पनि पर्यो,’ उनले भने, ‘उच्च आयात फाइनान्स गर्न कर्जा उच्च वृद्धि भयो, कर्जा आयात गर्न नगएको भए उच्च वृद्धिले पनि समस्या हुने थिएन ।’
‘यो वर्ष राष्ट्र बैकंले सबै प्रकारका उपकरण प्रयोग गरेर बजारमा २७ खर्ब २१ अर्ब रकम बजारमा पठाएको उनले जानकारी गराए। अधिक तरलता क्षमता २ खर्ब रुपैयाँ मात्रै भएको तर यो वर्ष ४ महिनामा ३ खर्बको आयात हुँदा तरलतामा चाप परेको उनले बताए ।













