विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलि र विदेशी विनियम संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलि संशोधन गरेको छ । आइतबार संशोधन निर्देशिका जारी गर्दै राष्ट्र बैंकले जनाएको हो ।
नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलि २०७८ को अनुसूची र विदेशी विनियम कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ को संशोधन गरिएको हुँदा सोही बमोजिम कारोबार गर्न गराउन निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले ‘वान इयर बेञ्चमार्क इन्ट्रेष्ट’ लाई प्रयोगमा ल्याएको छ । राष्ट्र बैंकले ‘वान इयर लाइबोर’ दरमा अधिकतम १.२५ प्रतिशत’ को सट्टामा ‘वान इयर बेञ्चमार्क इन्ट्रेस्ट’ दरमा अधिकतम १.७५ प्रतिशत’ कायम गरेको हो।
साबिकको ऋण सम्झौतामा २०२१ पछि लाइबोरको सट्टामा ‘फलब्याक प्रोभिजन्स’ व्यवस्था भएको हकमा सोही बमोजिम हुने भएको छ । तर, त्यस्तो फलब्याक प्रोभिजनमा एसओएफआर, एसओएनआइए, एसआरओएन, टिओएनए वा इएसटीइआर उल्लेख भएमा साविकको लाइबोरमा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुबैको सहमतिमा अधिकतम ५० आधार बिन्दु मार्जिन थप गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
लाइबरको सट्टामा फलब्याक प्रोभिजन व्यवस्था नभई त्यस्तो ऋण डलरमा अंकित भई लाइबर बेञ्चमार्क व्याजदर ओभरनाइट, एक महिना, तीन महिना, ६ महिना वा १२ महिना अवधि भएको हकमा ३० जुन २०२३ सम्म (त्यस्तो लाइबोर बेञ्चमार्क प्रकाशन भएको हकमा) साविक बमोजिम हुनेछ ।
त्यस्तो ऋण टग लिगेसी कन्ट्राक्ट अन्तर्गतका ब्रिटिस पाउण्ड तथा जापानी येनमा अंकित भई लाइबोर बेञ्चमार्क व्याजदर एक महिना, तीन महिना वा ६ महिना अवधि भएको हकमा ३१ डिसेम्बर २०२२ सम्म सिन्थेटिक मेथोलोजीबाट गणना हुने लाइबोर (त्यस्तो लाइबोर बेञ्चमार्क प्रकाशन भएको हकमा) बमोजिम हुनेछ ।
खण्ड ख र ग अन्तर्गत नपर्ने साबिकको ऋण–सम्झौताको हकमा लाइबोरको सट्टामा साबिककै अवधिसँग मेल खाने एसओएफआर (अमेरिकी डलरमा अंकित ऋणको लागि), एसओएनआइए (ब्रिटिस पाउण्डमा अंकित ऋणको लागि), एसएआरओएन (स्विसमा अंकित ऋणको लागि), टीओएनए (येनमा अंकित ऋणको लागि) र इएसटीइआर (युरोमा अंकित ऋणको लागि) बेञ्चमार्क इन्ट्रेस्ट रेट लागू हुनेछ र सो गर्दा लाइबोरमा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम ५० आधार बिन्दु मार्जिन थप गर्न सकिनेछ ।













