शेयर बजारमा हुने चलखेल सजिलै थाहा पाउन अटोमेटिक प्रणालीको बिकास गर्छाैः अध्यक्ष हमाल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजारमा हुने चलखेल सजिलै थाहा पाउन अटोमेटिक प्रणालीको बिकास गर्छाैः अध्यक्ष हमाल



काठमाडौं । नेपाली शेयर बजारलाई सुधार र विकास गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले विभिन्न चार वटा काम गर्नुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकासका लागि चार क्षेत्रमा काम गर्ने बताएका हुन् ।

अध्यक्ष हमालका अनुसार आफ्नै भवन बनाएर सूचना प्रविधिमा सक्षम हुने छ । आफ्नै भवन निर्माण गर्ने र सूचना प्राविधिलाई बलियो प्रणालीका रुपमा अगाडी सार्ने उनको योजना रहेको छ । उनले भने, ‘बजारमा हुनसक्ने चलखेल सजिलै जानकारी पाउन सकिन्छ, त्यसका लागि अटोमेटिक प्रणालीको बिकास गर्नुपर्नेछ ।’

शेयर बजारमा समस्या देखिए त्यसलाई समाधान गर्न टास्क फोर्स गठन गर्ने योजना रहेको अध्यक्ष हमालको योजना रहेको छ । पूाजी बजारमा समस्या देखिने बित्तिकै तत्काल रेस्पन्स गर्न टास्क फोर्स बनाइने उनी बताउँछन् ।

शेयर बजारको दायरा फराकिलो बनाउन र सर्वसाधारणको पहुँचमा शेयर बजार पुर्याउनका लागि क्यापिटल मार्केट इन्स्टिच्युट खोल्नुपर्ने अध्यक्ष हमाल बताउँछन् । उनले भने, ‘क्यापिटल मार्केट इन्स्टिच्युट खोल्नुपर्छ, मोडालिटी बनाएर काम गर्नुपर्नेछ, एक बर्ष लाग्ला, अर्को बर्षदेखि कार्यान्वयनमा आउने छ, यसको लागि हामीले बिदेशको बेस्ट प्राक्टिस अबलम्बन गर्नेछौं ।’

साथै बन्ड मार्केटलाई पनि कार्यान्वयनमा ल्याउने उनले बताए । अनफेयर कारोबारलाई नियन्त्रण गर्न अन्य देशमा कस्तो अभ्यास छ भनेर अध्ययन गरेर नेपाली पूँजी बजारमा लागू गर्ने उनी बताउँछन् । कानुनमा सुधार गरेर भएपनि पूँजी बजारको विकासका लागि बोर्ड लाग्ने उनले बताए ।

उनले शेयर बजार बारे वित्तीय साक्षरता दिनुपर्ने बताए । उनले भने, ‘शेयर लगानीकर्तामा साक्षरता कमी देखियो, साक्षरता र अनुभवमा कमी हुँदा बजार बढ्न नपर्ने समयमा पनि बढ्यो ।’


प्रतिक्रिया दिनुहोस्