पूँजी बृद्धि गर्ने निर्णयपछि बीमामा आकर्षण बढ्यो, जीवन विकास, राष्ट्र उत्थान र इमर्जिङ्ग नेपालको मूल्यमा सर्किट

काठमाडौं । बीमा समितिले बीमा कम्पनीको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै शेयर बजारमा बीमा कम्पनीको शेयर मूल्य बढ्न थालेको छ । आइतबारको शेयर बजारमा जीवन बीमा समूह र निर्जीवन बीमा समूहको शेयर मूल्य बढेको छ ।
बीमा समितिले जीवन कम्पनीहरुको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । सोही कारण लगानीकर्ता बीमा कम्पनीमा आकर्षित भएका छन् ।
समितिको संचालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ अब पुर्याउन निर्देशन दिएको हो । हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।
आइतबार कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.६७ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.४६ प्रतिशत, जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.१५ प्रतिशत, अजोड इन्स्योरेन्सको शेयर मूल्य ८.७३ प्रतिशत बेढेको छ ।
त्यस्तै, धेरै कारोबार हुने कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, लाइप इन्स्योरेन्स कर्पाेरेशन, एभरेष्ट इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन् ि लगयात अधिकांश इन्स्योरेन्स कम्पनी नै रहेका छन् ।
इन्स्योरेन्स बाहेक जीवन विकास लघुवित्तको, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागि रहेको छ । जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत र इमर्जिङ्ग नेपालको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।
यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६९ अंक अर्थात ०.१८ प्रतिशत बढेको छ । त्यस्तै, २१२ कम्पनीको २६ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
