निरन्तर किन घटिरहेको छ शेयर बजार ?

काठमाडौं । निरन्तर ओरालो लागिरहेको शेयर बजारमा सोमबार पनि गिरावट आएको छ । राजनीतिक उतारचढावका कारण शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सरकारले गर्ने गरेका विभिन्न निर्णयले गर्दा बजारमा त्यसको प्रभाव पर्ने गरेको छ । नेपाली शेयर ‘अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सिन्छ’ भने जस्तै हुन थालेको छ ।
बजारमा तरलता अभाव कायम रहेकाले पनि बजार करेक्सन हुँदै आएको बताईन्छ । यता एमसीसी पारित भएपछि तरलता अभाव हट्ने र शेयर बजारले पनि उकालो यात्रा लिने अनुमान गरिएको थियो । तर जनताको विरोधकाबीच एमसीसी पारित भएपछि त्यसको प्रभाव शेयर मार्केटमा परेको शेयर विज्ञ बताउँछन् ।
राष्ट्र बैंकले शेयर धितोमा गरेको कडाईले दिर्घकालिन प्रभाव शेयर बजारमा नै परेको छ । साथै धितोपत्र बोर्डले विभिन्न ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेपछि पनि बजार नकारात्मक सूचकतिर छ ।
पछिल्लो समय आर्थिक संकटको दबाव बढ्दै गएका बेला शेयर बजार पनि निरन्तर ओरालो लाग्दै आएको छ । निर्वाचनको बेलामा बजारमा पैसाको बढी प्रयोग हुने भएकाले शेयर बजारमा पनि रौनकता छाउने आशा लगानीकर्तामा थियो । तर जति जति निर्वाचनको मिति नजिक आउँदै छ, त्यति नै शेयर बजार घटिरेहको छ । आर्थिक संटकको अवस्थामा पुगेको नेपालको अर्थतन्त्रले गर्दा पनि बजारमा लगानीकर्ता निराश हुन पुगेका छन् ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ अंकमा बन्द भएको छ । यसअघि आइतबार नेप्से सूचक २९.६० अंकले घटेर २३८५.६४ अंकमा बन्द भएको थियो ।
त्यस्तै, सोमबार दिनभरिमा २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर३१ हजार ८२५ पटक किनबेच हुँदा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार दिनभरिमा २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर २९ हजार ४४ पटक किनबेच हुँदा १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार बैंकिङ समूह १.०४ प्रतिशत, ब्यापार समूह ०.५३ प्रतिशत, होटल तथा पर्यटन समूह १.६३ प्रतिशत, विकास बैंक समूह १.६८ प्रतिशत, हाइड्रोपावर समूह २.९८ प्रतिशत, फाइनान्स समूह ३.४४ प्रतिशत, निर्जीवन बीमा समूह ३.०९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह १.६७ प्रतिशत, अन्य समूह २.८६ प्रतिशत, माकइक्रोफाइनान्स समूह ०.७६ प्रतिशत, जीवन बीमा समूह २.०४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७६ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८.३३ प्रतिशत घटेको छ ।