पाइलटको मोबाइलमा फोन लाग्यो, ट्रयाक गर्दा लोकेशन मुस्ताङको लेतेमा
काठमाडौं । आइतबार विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज सम्पर्क विहिन भएको छ । स्थानियहरुका अनुसार मुस्ताङको लेतेमा ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि प्रहरी टोली त्यसतर्फ गएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘क्याप्टेन प्रभाकर घिमिरेको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेपाल प्रहरी र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई जहाज खोज्न आवश्यक पर्ने सहयोग गरिरहेको बताए । खोजीका लागि पोखरामा प्रभु एयरलाइन्सको विमान स्ट्याण्डबाइ रहेको छ भने मुस्ताङमा पनि अर्को हेलिकप्टर स्ट्याण्डबाइ रहेकोमा मौसममा खराबिका कारण उड्न सकेको छैन ।
उक्त विमानमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।













