विमान दुर्घटना: ५ सदस्यीय छानबिन आयोग गठन
काठमाडौं । सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै छानबिन आयोग गठन गरेको जनाएको हो ।
आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।
तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको परेको थियो । शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको हो । आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन भएको थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, ४ भारतीय र १३ नेपाली यात्रु थिए । ती सबैको मृत्यु भएको अबस्थामा फेला परेका हुन।














