इन्भेस्टमेन्ट–मेगा बैङ्क मर्जरले सार्थकता पाउँदै, यसै साता एमओयूको तयारी
काठमाडौं । गत चैत्रमा हिमालयन बैङ्कसँग मर्जर टुटेपछि नेपाल इन्भेस्टमेन्ट बैङ्कले अर्को कुनै न कुनै बैङ्कलाई आफूमा छिट्टै समाहित गर्न लागेको थियो । सोही क्रममा इन्भेस्टमेन्ट बैङ्कले मेगा बैङ्कलाई अफर गरेको थियो ।
मेगा बैङ्कले राम्रो स्वाप रेस्यो पाए मर्जर गर्न तयार भएपछि इन्भेस्टमेन्ट र मेगा दुवैले आन्तरिक डिडिए गराएका थिए । कुनै अवरोध नआए आगामी शुक्रबार इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क नेपालबिच मर्जर संबन्धी एमओयू हुने स्रोतले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे अमेरिका गएकाले उनले मर्जर संबन्धी सम्पूर्ण काम हेर्न बैङ्कका अर्का सञ्चालक प्रजनय राज भण्डारीलाई तोकेका छन् । पाँडेले मर्जर संबन्धी आवश्यक सल्लाह भर्चुअल माध्यमबाट दिने जनाएका छन् ।
पछिल्लो समय खुलेका बैङ्कहरूमध्ये मेगा बलियो बैङ्क रहेको छ । मेगा बैङ्कको मेगा बैङ्कको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कको चुक्ता पुँजी १८ अर्ब ३० करोड छ । मर्जरपछि इन्भेस्टमेन्ट बैङ्कको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुनेछ ।
नेपाल राष्ट्र बैङ्कले आगामी असार मसान्तसम्म मात्रै मर्जरको लागी सम्झौता गर्ने बैङ्कलाई कर छुट दिने बताएको छ । मर्जर संबन्धी सुविधा थप नहुने भएकाले पनि अहिले बैङ्कहरू मर्जरको लागी एक अर्काबिच कुरा चलाइरहेका छन् । नेपाल राष्ट्र बैङ्कले गत बुधवार सबै वाणिज्य बैङ्कका सीईओ र अर्का मुख्य प्रमोटरलाई बोलाएर मर्जर सम्बन्धी प्रक्रिया र भावी प्लान मागेको थियो ।
इन्भेस्टमेन्ट ले मेगा बैङ्कलाई अक्वायर गर्ने वित्तिकै हिमालयन बैङ्कमाथि पनि कुनै न कुनै बैङ्क अक्वायर गर्न दबाब पर्नेछ । हिमालयनले १ वर्षअघिदेखि कुरा चलाउँदै आएको सिभिल बैङ्कलाई फेरी अफर गरेको छ । इन्भेस्टमेन्ट बैङ्कसँग आफैले मर्जर भाँडेको हिमालयनमाथि झनै दबाब छ ।













