जेठ महिनामा २३ अर्ब रुपैयाँ निक्षेप बैंकमा भित्रियो, एक सातामा कर्जा २ अर्ब घट्दा सीडी रेसियो कति ?
काठमाडौं । जेठ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । जेठ २७ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ह्वात्तै बढेको हो । यसअघिका महिनाहरुमा खासै निक्षेप संकलन गर्न नसकेका वाणिज्य बैंकहरुले जेठ महिनामा भने २३ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका हुन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निक्षेप संकलन बढेको हो । चुनावको बेला खर्च भएको रकम बैंकिङ्ग प्रणालीमा भित्रिएको हो । यसअघि गत बैशाख ३० गतेसम्ममा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ २७ गतेसम्म पुग्दा २३ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो ।
त्यस्तै, एक साताको अवधिमा ३ अर्ब रुपैयाँ निक्षेप बढेको छ । यसअघि गत जेठ २० गते ४३ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेकोमा ३ अर्ब बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो ।
यता जेठ महिनामा २ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । बैशाख ३० गते ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले जेठ २७ गतेसम्ममा २ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । एक साताको अवधिमा भने २ अर्ब रुपैयाँ कर्जा घटेको छ । गत जेठ २० गते ४१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा रहेकोमा २ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको सीडी रेसियो ९०.२२ प्रतिशत कायम रहेको छ ।













