हकप्रद र ऋणपत्र बिक्री गर्न दिन लघुवित्त बैंकर्स संघको माग, ४ प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारणको माग

काठमाडौं । लघुवित्त बैंकर्स संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । लघुवित्त बैंकर्स संघले लघुवित्त संस्थाहरुलाई हकप्रद र ऋणपत्र निष्काशनदेखि बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग गरिएको छ ।
निश्चित मापदण्ड तोकेर लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर तथा ऋणपत्र लगायतअन्य वित्तीय उपकरणहरु निष्काशन गर्न पाउने व्यवस्था गर्न संघले माग गरेको हो ।
साथै संघले बेस रेटको आधारमा ब्याजदर निर्धारण गर्न माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जा अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गरेको कर्जामा आफनो बेस रेटमामा अत्याधिक प्रिमियम जोडी १५ प्रतिशतभन्दा वढी ब्याज लगाईरहेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुले आफनो कर्जामा लिन पाउने ब्याजदर भन्दा वढी ब्याजमा सापटी लिनुपर्ने अवस्थाले लघुवित्त वित्तीय संस्थाहरुको दिगोपनामा समस्या आउने निश्चित भएको संघको ठम्याई छ ।
त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्ग कर्जा अन्तर्गत अनिवार्य प्रवाह गर्नुपर्ने थोक कर्जाको प्रिमियम दर अधिकतम १ प्रतिशतमा नबढ्ने गरि मौद्रिक नीतिमा ब्यवस्था मिलाउन संघले माग गरेको हो ।
साथै लघुवित्तको ब्याजदर वैज्ञानिक आधारमा निर्धारण गर्न माग गरेको हो । अन्य बैंक तथा वित्तीय संस्था जस्तै लघुवित्तलाई पनि आफ्नो आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम जोडी व्याजदर निर्धारण गर्नसक्ने नीतिगत व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिएको हो ।