कुन बैंकको नाफा कति, यस्तो छ एकमुष्ट विवरण
काठमाडौं । कोभीड महामारीपछि अर्थतन्त्रलाई पुनरुत्थान गर्ने क्रममा राष्ट्र बैंकले ऋणीहरुलाई दिउका केही सुविधाका कारण अघिल्लो वर्ष धेरै बैंकको वित्तीय विवरण उत्साहप्रद थिएनन् । अहिले गत वर्षको वित्तीय विवरणहरु सार्वजनिक हुने क्रममा छन् । बैंकहरुले प्रकाशन गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विववरणहरुका आधारमा अधिकांश बैंकको नाफा र कारोबारमा सुधार भएको देखिएको छ ।
तर पछिल्लो समय शेयरको दोस्रो बजारमा सबै बाणिज्य बैंकका शेयरको भाउ सस्तिएका कारण सबैजसो बैंकको मूल्य आम्दानी अनुपात २० गुणाभन्दा कममा झरेको छ । यसले बैंकहरुको शेयर किन्दा ठूलो क्षति नहुने देखिन्छ । बैंकहरुले दिने प्रतिफलको क्षमतामा पनि अघिल्लो वर्षभन्दा सुधार भएको छ । राष्ट्र बैंकले गत वर्ष ३० प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाइने व्यवस्था गरेकोमा यो वर्षको मौद्रिक नीतिमार्फत् उक्त व्यवस्था हटाइएको छ । यसको लाभ लिन पनि बैंकका शेयर बढी आकर्षक हुन सक्ने देखिन्छ । यहाँ केही बाणिज्य बैंकको प्रमुख वित्तीय सूचकहरु प्रस्तुत गरिएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँबाट घटेर १८ रुपैयाँभन्दा कम भए पनि बैंकको वितरणयोग्य मुनाफा भने बढेको छ । ब्याज आम्दानी बढे पनि थुप्रै संचालन आय घटेको बैंकले गत आर्थिक वर्षको नाफाबाट ३ अर्ब ९० करोड ७ लाख हाराहारी लाभांश बाँड्नसक्ने सामथ्र्य बनाएको छ । गत वर्षको तुलनामा यो दोब्बरभन्दा बढी हो । यसले कम्पनीलाई करीब ३० प्रतिशतसम्म लाभा.श बाँड्नसक्ने बनाएको छ । तर बैंकको वास्तविक वार्षिक नाफा भने पोहोरभन्दा २६ प्रतिशत घटेको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले अघिल्लो वर्षको तुलनामा ३६.५३ प्रतिशत खुद नाफा बढाएर गत वर्ष ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ कमाएको छ । सञ्चालन नाफामा आएको सुधारले बैंकको खुद नाफा बढाउन सहयोग गरेको छ । गत वर्ष बैंकले २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यससँगै बैंकको प्रतिशेयर आम्दान िअघिल्लो वर्षभन्दा साढे ३ रुपैयाँ बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ । १२.३७ प्रतिशत निक्षेप बढाउन सकेको बैंकले १६.४१ प्रतिशतले कर्जा विस्तार गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले पनि अघिल्लो वर्षभन्दा १२.७८ प्रतिशत नाफा बृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब २१ करोड ९७ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको ब्याज आम्दानी झण्डै २८ प्रतिशत बढे पनि शुल्क तथा कमिसन भने ७ प्रतिशत हाराहारीमात्रै बढ्न सक्यो । असार मसान्तमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा कायम भएको छ । बैंकले १ खर्ब ९१ अर्ब ५५ करोड निक्षेप संकलन गरेर १ खर्ब ७८ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।
कुमारी बैंक
अघिल्लो वर्षभन्दा ६ प्रतिशतमात्रे चुक्ता पूँजी बढाएको कुमारी बैंकले गत वर्ष तुलनात्मक रुपमा राम्रो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आधार दर २.६७ प्रतिशतले बढाएरै भए पनि स्प्रेड समेत अघिल्लो वर्षभन्दा उच्च बृद्धि गरेको छ । निक्षेप २१ प्रतिशत र कर्जा ११ प्रतिशत बढाएको तथ्यांक बैंकले सार्वजनिक गरेको छ । यसबाट बैंकको सञ्चालन आय ४५ प्रतिशत र सञ्चालन नाफा ३२ प्रतिशतभन्दा धेरैले बढेको देखिन्छ । फलस्वरुप बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर १९ रुपैयाँ नाघेको छ भने मूल्य आम्दानी अनुपात झण्डै २६ गुणाबाट घटेर १० गुणाभन्दा कममा झरेको छ।
एसबीआई बैंक
भारतीय लगानीको नेपाल एसबीआई बैंकले पनि आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । पछिल्लो एक वर्षमा जम्मा साढे ३ प्रतिशतमात्रै पूँजी बृद्धि भएकाले पनि यो बैंकको शेयरमा उच्च प्रतिफलको संभावना देखिएको छ । बैंकले झण्डै १ खर्ब २० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५ अर्बभन्दा धेरै कर्जा लगानी गरेको छ । अन्य बैंकको जस्तै एसबीआईको पनि आधार दरका साथसाथै स्प्रेड पनि बढेपछि खुद ब्याज आम्दानी अघिल्लो वर्षभन्दा ५३.७२ प्रतिशत बढेको छ । १० रुपैयाँ १५ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ ६७ पैसा पुगेकै बेला दोस्रो बजारमा शेयरको भाउ ओरालो लागेपछि कम्पनीको मूल्य आम्दानी अनुपात ४०.४१ गुणाबाट घटेर १६.९३ गुणामा झरेको छ ।
हिमालयन बैंक
चुक्ता पूँजी नै २१.३८ प्रतिशत बढाएको हिमालयन बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४८ अर्ब कर्जा लगानी गरेको छ । स्प्रेडमा थोरै बृद्धि गरेको यो बैंकले गत वर्ष खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढाएपछि २ अर्ब ६६ करोड वितरणयोग्य मुनाफा कमाउन सफल भएको छ । यद्यपि बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा झण्डै १८ प्रतिशत घटेको छ । पूँजी बृद्धिका कारण प्रति शेयर आम्दानी २८ रुपैयाँबाट घटेर १९ रुपैयाँमा झरे पनि मूल्य आम्दानी अनुपात १५.६३ गुणामा ओर्लिएको छ । भर्खरैमात्र हिमालन र बैंक अफ काठमाण्डूले चीनमा फसेको डेढ अर्बको मुद्दा जितेपछि अब यी दुबै बैंकको नाफामा सुधार हुने देखिएको छ ।
प्राइम कमर्शियल बैंक
हरेक वर्ष १६–१७ प्रतिशतले पूँजी विस्तार गर्दै आएको प्रायम कमर्शियल बैंकले गत साल सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढाए पनि वितरणयोग्य नाफा भने ११.८९ प्रतिशत घटेको छ । बैंकले गत वर्षको नाफाबाट २ अर्ब ३४ करोड ६४ लाख लाभांश बाँड्न लायक बनाएको छ । पूँजी बढे पनि बैंकले प्रतिशेयर आम्दानीलाई २० रुपैयाँ हाराहारीमै लगभग स्थिर राखेको छ । १ खर्ब ६० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४८ अर्ब कर्जा लगानी गरेको बैंकको मूल्य आम्दानी अनुपात भने २३.६७ गुणाबाट घटेर १३.४३ गुणामा झरेको छ ।
एभरेस्ट बैंक
ब्याज मार्जिनमा धेरै ध्यान नदिए पनि निक्षेपको तुलनामा कर्जा झण्डै दोब्बर बढाएपछि एभरेस्ट बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकको सञ्चालन नाफा करीब ४३ प्रतिशत बढेको छ भने वितरण योग्य नाफा लगभग ६५ प्रतिशत बढाएको छ । गत वर्षको नाफाबाट ३ अर्ब ८९ करोड लाभांशमा बाँड्न सक्ने हैसियत बैंकको बनेको छ । यो शेयर पूँजीको ४१ प्रतिशत हो । बैंकको प्रतिशेयर आम्दानी पनि १९ रुपैयाँ ८२ पैसाबाट बढेर करीब २७ रुपैयाँ पुगेको छ । पछिल्लो वर्ष करीब ६ प्तिशतमात्रै पूँजी बृद्धि गरेको र दोस्रो बजारमा भाउ घटेका कारण बैंकको मूल्य आम्दानी अनुपात ३७ गुणाबाट घटेर १६.२३ गुणामा झरेको छ । बैंकले असार मसान्तमा १ खर्ब ७२ अर्ब ७४ करोड निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब ४७ करोड कर्जा लगानी गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
बेलायती बहुराष्ट्रिय वित्तीय संस्था स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले प्रतिशेयर आम्दानी १६ रुपैयाँबाट बढाएर २४ रुपैयाँ ७ पैसा पुराएको छ । बैंकले ब्याज आम्दानीमा अघिल्लो वर्षभन्दा उल्लेख्य बृद्धि गरेपछि सञ्चालन नाफा २ अर्बबाट बढेर ३ अर्ब २५ करोड नाघेको छ । बैंकले ९३ अर्ब ७२ करोढ निक्षेप संकलन गरेर ७९ अर्ब १७ करोड कर्जा लगानी गरेको छ । यसबाहेक १० अर्बभन्दा बढी ऋण बैंक तथा वित्तीय संस्थालाई नै दिएको छ । कम्पनीमा करीब ९ अर्ब ४३ करोड शेयर पूँजी छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक
१ खर्ब ७४ अर्ब ५५ करोड निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब ८१ करोड कर्जा लगानी गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले शेयर धनिलाई २ अर्ब ५३ करोड लाभांश बाँड्न योग्य हुने गरी वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको सञ्चालन नाफा ५ अर्ब १२ करोडबाट बढेर ६ अर्ब ७२ करोड ७६ लाख पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँमा स्थिरप्राय छ भने पीई रेसियो २०.९१ गुणाबाट घटेर ११.८७ गुणामा झरेको छ ।













