७ श्रावण २०८३, बिहिबार

नेपाल बैंकको खुद नाफा ३ अर्ब माथि जादाँ वितरणयोग्य नाफामा ओरालो, अन्य सूचक कस्तो ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा १०.२९ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो ।

असार मसान्तसम्मको अवधिमा बैंकको खुद नाफामा सुधार देखिएको भएपनि अन्य अधिकांश सूचकहरु ओरालो लागेको देखिएको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफामा पहिरो गएको छ । चौथो त्रैमाससम्मको अवधिमा बैंकको वितरण योग्य नाफा ५५.७७ प्रतिशतले घटेर १ अर्ब ५४ करोड ६६ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ४९ करोड ७० लाख २० हजार रुपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिए पनि संचालन नाफा फेरी ओरालो लागेको छ । बैंकको खुद ब्याज आम्दानी ७.२३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड ४७ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ५.४४ प्रतिशतले घटेर ४ अर्ब ११ करोड १० लाख ११ हजार रुपैयाँ खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४२ करोड ४ लाख ४१ हजार र संचालन नाफा ४ अर्ब ३४ करोड ७६ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको बैंकको चुक्तापूँजी गत आर्थिक वर्षको सोहि अवधिमा १४ अर्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ रहेको छ । साथै, जगेडा कोष १७ अर्ब ८१ करोड ६७ लाख १९ हजार रुपैयाँ, निक्षेप संकलन २०.४३ प्रतिशतले बढेर १ खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ, कर्जा लगानी २६.८६ प्तिशतले बढेर १ खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस्