इष्टर्न हाइड्रोपावरको आइपीओमा १ अर्ब रुपैयाँ संकलन, आवेदन दिने मंगलबार अन्तिम दिन
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा १ अर्ब रुपैयाँ संकलन भएको छ । सिडिएस क्लियरिङ्गका अनुसार सोमवार बिहान १० बजेसम्ममा ९ लाख ४ हजार ८०५ आवेदकले १ करोड ३ लाख ११ हजार २७० कित्ताका लागि १ अर्ब ३ करोड ११ लाख २७ हजार रुपैयाँको लागि आवेदन दिएका हुन । यो माग भन्दा १६ दशमलव ५४ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्तासहित ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गरेको हो ।
सोमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २१३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्तामा आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक १ गते र माग बमोजिम आवेदन नपरेको खण्डमा कात्तिक १४ गतेसम्म दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।















