सांसदहरुमा कोरोना परीक्षण सुरु

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई वटै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोना भाइरस संक्रमण भए नभएको आजबाट परीक्षण सुरु गरिएको छ ।
शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको हो । राष्ट्रिय सभा सांसदहरुको बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ ।
संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।
एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अधिकारी धमलाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।