१६ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेपः सुस्तायो कर्जा प्रवाह, सीडी रेसियो कति ? « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

१६ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेपः सुस्तायो कर्जा प्रवाह, सीडी रेसियो कति ?



काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन वृद्धि भएको छ । कात्तिक महिनामा बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको हो ।

असोज मसान्तसम्ममा ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । तर, पछिल्लो कात्तिक मसान्तसम्म आईपुग्दा भने बढेर ४५ खर्ब ६३ अर्ब पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार कात्तिक पहिलो सातामा ४५ खर्ब ४१ अर्ब, दोस्रो साता अर्थात कात्तिक ११ गतेसम्म ४५ खर्ब २४ अर्ब, तेस्रो साता (कात्तिक १८ गते) ४५ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

कात्तिक २५ गतेसम्म ४५ खर्ब ४६ अर्ब रहेको निक्षेप ३० गतेसम्म आईपुग्दा भने पाँच दिनमै १७ अर्बले बढेको बैंकर्स संघले जनाएको छ । योसंगै कात्तिक मसान्त (३० गतेसम्म) आईपुग्दा ४५ खर्ब ६३ अर्ब निक्षेप भित्रिएको छ ।

बैंकर्स संघको तथ्याङ्क अनुसार एक महिना (असोज ३१–कात्तिक ३० गतेसम्म) मा कर्जा प्रवाह भने अलि सुस्ताएको छ । उक्त अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ । असोज मसान्तसम्ममा ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले कात्तिक मसान्तसम्म आईपुग्दा भने ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरुले कात्तिक ४ गते ४२ खर्ब २५ अर्ब, कात्तिक दोस्रो साता (११ गते) ४२ खर्ब २५, कात्तिक १८ गते ४२ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस्तै, बैंकले कात्तिक २५ गते ४२ खर्ब २२ अर्ब र कात्तिक ३० गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका थिए ।

उक्त अवधिमा बैंकहरुको सीडी रेसियो भने ८७.१९ प्रतिशत कायम भएको बैंकर्स संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्