यी चार बैंक, कुन बैंकका सीईओको तलब कति ?

काठमाडौं । तीन वाणिज्य बैंक र एक पूर्वाधार बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन । गत आवको वार्षिक साधारण सभा सम्पन्न गरि बैंकहरुले लाभांश समेत पारित गरेका छन् ।
कुमारी बैंक, सिटिजन बैंक, एनसीसी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सभा सम्पन्न गरि सकेका छन् । यी बैंकहरुले गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
प्रकाशित प्रतिवेदन अनुसार बैंकहरुले प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापकीय पदाधिकारीहरुलाई भुक्तानी गरेको तलब भत्ता सेवा सुविधा पनि उल्लेख गरेका छन्।
कुन बैंकका सीईओले कति बुझे तलब ?
कुमारी बैंक
कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई चार करोड रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता दिएको हो ।
बैंकले सीईओलाई तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११, संचय कोषमा ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८०, बिदा बापत ४० लाख ६३ हजार ७३६, उपदानबापत २ लाख ४३ हजार ३६२, बोनस बापत ३९ लाख ९२ हजार ४८१ र अन्य शिर्षकमा १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ दिएको जनाएको छ ।
बैंकका अनुसार तत्कालिन कामु प्रमुख अनुजमणि तिमिल्सिना (२०७८ माघ २४ गतेसम्म) ले ३ करोड ६४ लाख ९८ हजार लिएका छन् । रामचन्द्र खनाल (२०७९ बैशाख १३ सम्म) ले ४९ लाख ७३ हजार रुपैयाँ बुझेका । खनालले तलब बापत ४३ लाख २५ हजार, चाडपर्व भत्ता बापत ३ लाख ५८ हजार अन्य शिर्षकमा २ लाख ९० हजार रुपैयाँ बैंकले जनाएको छ।
गत आवमा बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले व्यवस्थापकहरुलाई तलब बापत १ करोड १४ लाख, ७६ हजार ६९४ रुपैयाँ, भत्ता ३५ लाख ३९ हजार ३५३, संचयकोष वापत ११ लाख ४७ हजार ६६९, गाडी मर्मत ५६ लाख २७ हजार १८, औषधि उपचार (वार्षिक संचित) ७ लाख २७ हजार ७८३, दशैं भत्ता बापत १४ लाख ३४ हजार, ९८६, बिदा (वार्षिक र संचित) २८ लाख ४५ हजार ३२१, उपदान बापत २६ लाख ५७ हजार ३४४, कर्मचारी बोनस ५० लाख ९८ हजार, ७७३ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ भुक्तानी गरेको छ ।
सिटिजन बैंक
सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले डेढ करोड बढी तलब भत्ता बुझेका छन् । सीईओले पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बुझेका हुन् ।
गत आवमा सीईओ पोखरेलले तलब वापत ८४ लाख, भत्ता, ६० लाख रुपैयाँ भत्ता र दशैं भत्ता बापत ९ लाख ५० हजार रुपैयाँ लिएका छन् । उनको सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य रकम २ लाख १४ हजार १०९ रुपैयाँ लिएको बैंकले जनाएको छ ।
बैंकले संचालक बैठकभत्ता बापत २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको हो । अन्य पदाधिकारीहरुलाई भने ३ करोड २५ लाख ८७ हजार ८१३ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तानी गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याललाई १ करोड ३२ लाख रुपैयाँ तलब, भत्ता सुविधा दिएको छ ।
गत आवमा बैंकले अन्य कार्यकारी पदाधिकारी÷व्यवस्थापकलाई भने ३ करोड २४ लाख ९०५ रुपैयाँ भुक्तानी गरेको छ । गत आवमा बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम प्रत्येक बैठक भत्ता बापत अध्यक्षलाई १६ हजार, संचालकलाई १४ हजार रुपैयाँ भुक्तानी दिने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा संचालक समितिका सदस्यलाई बैठक भत्ता ५८ लाख ५० हजार, अन्य खर्च ५९ लाख ९ हजार ५९३ रुपैयाँ गरि कुल १ करोड १७ लाख ५९ हजार ५९३ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले बैठक भत्ता बाहेक संचालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई टेलिफोन तथा पत्रपत्रिकाका लागि मासिक ८ हजार रुपैयाँ उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आवमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामृकष्ण खतिवडालाई डेढ करोड रुपैयाँ भुक्तान गरेको छ ।
बैंकले सीईओ खतिवडालाई गत आवमा १ करोड ४८ लाख ९९ लाख १४९ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तान गरेको हो । यस्तै, गत आवमा बैंकले नायव प्रमुख कार्यकारी अधिकृतलाई ६६ लाख ५२ हजार ७८२ रुपैयाँ दिएको छ । बैंकले लाई गत आवको पारिश्रमिक, भत्ता तथा सुविधा वापत उक्त रकम दिएको हो ।
गत आवमा बैंकले नायव महाप्रवन्धकहरुलाई १ करोड ४९ लाख ६९ हजार ८२० रुपैयाँ र प्रवन्धकहरुलाई २ करोड ६४ लाख ९९ हजार ५७७ रुपैयाँ दिएको छ ।
गत आवमा बैंकले संचालक समिति एवं संचालक स्तरीय अन्य समितिको बैठक भत्ता १० लाख ७० हजार, अन्य खर्च २ लाख ९८ हजार गरि कुल १३ लाख ६८ हजार रुपैयाँ कुल खर्च गरेको छ ।
बैंकले सम्पूर्ण स्थायी पदाधिकारीहरुलाई बैंकको मानव संशाधन नीति अनुसार सवारी साधन खरिद, घर जग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा दिएको छ भने बैंकको मानव संशाधन नीति अनुसार मोवाईल फोन सुविधा र बैंकको नीति अनुरुप कर्मचारीहरुको सामुहिक जीवन बीमा समेत गरेको जनाएको छ ।