२० वाणिज्य बैंकले घोषणा गरे लाभांश : बोनस भन्दा नगदमा जोड, तीन बैंकका सेयरधनी निराश
काठमाडौं । लाभांश सिजन चलिरहेको छ । बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरिरहेका छन् ।
संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म २० बैंकले लाभांश घोषणा गरेका छन् । घोषणा गरेका मध्ये पाँच वटा बैंकले भने साधारण सभाबाट नै पारित गरि सेयरधनीलाई वितरण गरिसकेका छन् ।
बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांँश वितरणको घोषणा गरेका हुन् । यस वर्ष तीन वटा बैंकका सेयरधनीहरुको भने हात खाली भएको छ । लक्ष्मी बैंक, सनराइज बैंक र माछापुच्छ«े बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।
गत आवको मुनाफाबाट अब तीन वटा बैंकले मात्र लाभांश घोषणा गर्न बाँकी रहेको छन् । एनआईसी एशिया, राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषण हुन बाँकी छ । यी बाहेक २० वटा बैंकहरुले लाभांश घोषण गरिसकेका छन् । अधिकांश बैंकले बोनस सेयरमा भन्दा नगदमा जोड दिएका छन् । यस वर्ष आफ्ना लगानीकर्तालाई धेरै बैंकले नगद लाभांश मात्रै वितरण गर्ने भएका हुन् ।
जसमध्ये सिटिजन्स बैंक, एनसीसी, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू लगायतले साधारण सभा सम्पन्न गरेर लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् । यी बैंकहरुले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई क्रमशः ९ प्रतिशत, ११, १२.५०, १०.९८ प्रतिशत र २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका थिए ।
यस्तै, गत आवको मुनाफाबाट ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । त्यसैगरि गत आवको मुनाफाबाट नेपाल इन्भेष्टमेन्ट बैंकले ४ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकले १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत (६.५ प्रतिशत बोनस र १.५० प्रतिशत नगद) र मेगा बैंकले भने ४ प्रतिशत बोनस र ३.८३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् । नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
यता, गत आवको मुनाफबाट सेञ्चुरी बैंकले भने ५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ । बैंकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । एनएमबि बैंकले भने आफ्ना सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश( करा समेत) सिद्धार्थ बैंकले १ञ्२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद गरि कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।
यस्तै, नबिल बैंकले आफ्ना सेयरधनीलाई १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । प्राइम कमर्सियल बैंकले ८.९५ प्रतिशत र नेपाल बैंकले १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
गत आवको मुनाफाबाट हिमालयन बैंकले ८ प्रतिशत बोनस र ११.११ प्रतिशत नगद गरि कुल १९.११ प्रतिशत र सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।













