दुई तिहाई जनसंख्या वित्तीय साक्षरता बाहिर, जम्मा १७% लाई मात्रै कर्जामा पहूँच
काठमाडौं । नेपालमा साढे १७ प्रतिशत जनसंख्याले मात्रै बैंकको ऋण उपयोग गर्न सकिरहेको देखिएको छ । राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको ‘नेपालमा वित्तीय साक्षरता सम्बन्धी आधारभूत सर्वेक्षण’ले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागिमध्ये ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेको पाइए पनि थोरै मान्छेमात्रै बैंक कर्जाको पहूँचमा भएको देखिएको छ । बाँकी मानिसहरु सहकारी लगायत अन्य क्षेत्रबाट कर्जा लिइरहेका छन् ।
होटल र रेष्टुरेन्टका धेरै कामदारले सामूहिक बचत तथा ऋणको प्रयोग गरेको पाइएको छ । कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन् । राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेको पाइएको छ । यसले ठूलो अपेक्षा साथ सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जाको प्रभावकारीतामा प्रश्न खडा गरेको छ ।
अझै पनि ४५.५४ प्रतिशत मानिसहरु सामूहिक बचत तथा ऋण प्रयोग गरिरहेका छन् । यो औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिरको वित्तीय कारोबार हो । २३.९७ प्रतिशत मानिसहरुले शेयरमा लगानी गरेको बताएका छन् ।
बीमाको पहूँच भने ३० प्रतिशत वयस्क नागरिकमा पुगेको पाइएको छ । जनसंख्याको ८.४६ प्रतिशतले निर्जीवन बीमा र २६.७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेको बताएका छन् । अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसहरुको थोरै हिस्साले मात्र बचत गरिरहेको र ज्यादै कमलेमात्रै कर्जा लिन पाएको देखिएको छ ।
राष्ट्र बैंकको उक्त सर्वेक्षण प्रतिवेदनका अनुसार अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइ माथि निर्भर रहेको पाइएको छ । यो सर्वेक्षणले अहिले पनि बैंकहरु देशका हरेक स्थानीय तहमा पुगेर पैसा बटुल्नमा मात्रै केन्द्रित रहेको देखिन्छ । निक्षेप बैंकमा राख्ने, ऋण चाहीँ समूह वा सहकारीबाट लिनुपर्ने बाध्यतामा धेरै मानिसहरु रहेको देखिएको छ ।
वित्तीय साक्षरतामा पनि हालत सुध्रिसकेको देखिएको छैन । समग्रमा ५७.९ प्रतिशत मानिसहरुमात्रै वित्तीय साक्षरताको दायराभित्र देखिएको छ । राष्ट्र बैंकले वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिलाई आधारबनाएर यो सर्वेक्षण गरेको थियो । वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका यी तिनै आयामहरूमा न्यूनतम अङ्क प्राप्त गरेका छन्।
वित्तीय साक्षरताका हिसाबले बागमती प्रदेश सबैभन्दा अघि देखिएको छ । यसमा मधेस प्रदेश सबैभन्दा कमजोर छ । लैङ्गिक हिसाबले महिलाभन्दा पुरुषहरु वित्तीय साक्षरतामा अगाडी देखिएका छन् । पढेलेखेका, जागिरे र उच्च सीपयुक्त काम गर्ने मानिसहरु स्वभाविक रुपमै वित्तीय साक्षरतामा अगाडी छन् ।
















