आठ वाणिज्य बैंकः कुन बैंकका सीइओको तलब कति ?
काठमाडौं । आठ वाणिज्य बैंक र एक पूर्वाधार बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन । गत आवको वार्षिक साधारण सभा सम्पन्न गरि बैंकहरुले लाभांश समेत पारित गरेका छन् ।
कुमारी बैंक, सिटिजन बैंक, एनसीसी बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सभा सम्पन्न गरि सकेका छन् । यी बैंकहरुले गत आवको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रकाशित प्रतिवेदन अनुसार बैंकहरुले प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापकीय पदाधिकारीहरुलाई भुक्तानी गरेको तलब भत्ता सेवा सुविधा पनि उल्लेख गरेका छन्।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई राम्रो तलब सुविधा पाउने कर्मचारीको रुपमा नेपालमा लिईन्छ । अन्य जागीरको तुलनामा बैंकङ्ग क्षेत्रमा सुविधा आकर्षक र सम्मान राम्रो भएको मानिन्छ । त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भनेपछि तलब–सुविधा र मानसम्मान राम्रो हुने नै भयो । राम्रो सेवा सुविधा, रोजगारीको सुरक्षा भएका कारण निजी क्षेत्रको रोजगारीमध्येकै प्रमुख आकर्षण बैंक तथा वित्तीय संस्थामा बनेको छ । बैंकिङ क्षेत्रमा करियर बनाउन चाहनेहरुको जमात निकै ठूलो छ ।
विभिन्न ८ बैंकहरुले हालै सम्पन्न गरेको बार्षिक साधारण सभाको आधारमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा सीइओलाई दिएको तलब उल्लेख गरेका छन् । हेरौं, कुन बैंकको सीइओको कति तलब ?
सिटिजन बैंक
सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज पोखरेलले डेढ करोड बढी तलब भत्ता बुझेका छन् । सीईओले पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बुझेका हुन् ।
गत आवमा सीईओ पोखरेलले तलब वापत ८४ लाख, भत्ता, ६० लाख रुपैयाँ भत्ता र दशैं भत्ता बापत ९ लाख ५० हजार रुपैयाँ लिएका छन् । उनको सञ्चयकोष योगदान ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी १२ लाख २६ हजार ६६७ रुपैयाँ र अन्य रकम २ लाख १४ हजार १०९ रुपैयाँ लिएको बैंकले जनाएको छ ।
बैंकले संचालक बैठकभत्ता बापत २५ लाख ४१ हजार रुपैयाँ भुक्तानी गरेको हो । अन्य पदाधिकारीहरुलाई भने ३ करोड २५ लाख ८७ हजार ८१३ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तानी गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई चार करोड रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता दिएको हो ।
बैंकले सीईओलाई तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११, संचय कोषमा ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८०, बिदा बापत ४० लाख ६३ हजार ७३६, उपदानबापत २ लाख ४३ हजार ३६२, बोनस बापत ३९ लाख ९२ हजार ४८१ र अन्य शिर्षकमा १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ दिएको जनाएको छ ।
बैंकका अनुसार तत्कालिन कामु प्रमुख अनुजमणि तिमिल्सिना (२०७८ माघ २४ गतेसम्म) ले ३ करोड ६४ लाख ९८ हजार लिएका छन् । रामचन्द्र खनाल (२०७९ बैशाख १३ सम्म) ले ४९ लाख ७३ हजार रुपैयाँ बुझेका । खनालले तलब बापत ४३ लाख २५ हजार, चाडपर्व भत्ता बापत ३ लाख ५८ हजार अन्य शिर्षकमा २ लाख ९० हजार रुपैयाँ बैंकले जनाएको छ।गत आवमा बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले व्यवस्थापकहरुलाई तलब बापत १ करोड १४ लाख, ७६ हजार ६९४ रुपैयाँ, भत्ता ३५ लाख ३९ हजार ३५३, संचयकोष वापत ११ लाख ४७ हजार ६६९, गाडी मर्मत ५६ लाख २७ हजार १८, औषधि उपचार (वार्षिक संचित) ७ लाख २७ हजार ७८३, दशैं भत्ता बापत १४ लाख ३४ हजार, ९८६, बिदा (वार्षिक र संचित) २८ लाख ४५ हजार ३२१, उपदान बापत २६ लाख ५७ हजार ३४४, कर्मचारी बोनस ५० लाख ९८ हजार, ७७३ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ भुक्तानी गरेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याललाई १ करोड ३२ लाख रुपैयाँ तलब, भत्ता सुविधा दिएको छ ।
गत आवमा बैंकले अन्य कार्यकारी पदाधिकारी/व्यवस्थापकलाई भने ३ करोड २४ लाख ९०५ रुपैयाँ भुक्तानी गरेको छ । गत आवमा बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम प्रत्येक बैठक भत्ता बापत अध्यक्षलाई १६ हजार, संचालकलाई १४ हजार रुपैयाँ भुक्तानी दिने गरिएको प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा संचालक समितिका सदस्यलाई बैठक भत्ता ५८ लाख ५० हजार, अन्य खर्च ५९ लाख ९ हजार ५९३ रुपैयाँ गरि कुल १ करोड १७ लाख ५९ हजार ५९३ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले बैठक भत्ता बाहेक संचालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई टेलिफोन तथा पत्रपत्रिकाका लागि मासिक ८ हजार रुपैयाँ उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले २ करोड बढी तलब भत्ता बुझेका छन् ।सीईओ बज्राचार्यलाई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता वापत २ करोड ८ लाख ५८ हजार ४९२ रुपैयाँ रकम दिएको हो । उनले तबल वापत ७५ लाख ९६ हजार रुपैयाँ, भत्ता ५० लाख ४० हजार, दशै भत्ता १० लाख ५३ हजार, बिदा पावतको भुक्तानी १० लाख ५३ हजार र सञ्चय कोष ७ लाख ५९ हजार ६ सय रुपैयाँ बुझेका छन् ।
यस्तै, कार्यकारी प्रमुखलाई गत आवमा कुशल कार्य सम्पादनमा आधारित कर्मचारी बोनस वापत ४९ लाख ७६ हजार ३३४ रुपैयाँ दिएको छ । उनलाई टेलिफोन र मोबाइल खर्च ६६ हजार २७० रुपैयाँ ४० पैसा, सवारी साधान मर्मत ५५ हजार ४१३ रुपैयाँ र इन्धन सुविधाका लागि २ लाख ५८ हजार ८७४ रुपैयाँ ३३ पैसा भुक्तानी गरेको छ।
बैंकले अन्य सहायक प्रवन्धक तहसम्मका पदाधिकारीहरुलाई तलब, भत्ता सञ्चय कोष समेत गरि २४ करोड २२ लाख ६१ हजार ६०७ रुपैयाँ प्रदान गरेको जनाएको छ । बैंकले नियम अनुसार इन्धन तथा मोबाइल सुृविधा प्रदान गरिएको बताएको छ । बैंकले कम्पनी सचिवलाई गत वर्ष पारिश्रमिक बापत १९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरको जनाएको छ । गत आवमा बैंकको कुल कर्मचारी खर्च ३ अर्ब २९ करोड ७ लाख २५ हजार ८१३ रुपैयाँ (बोनस व्यवस्था बापतको ७८ करोड ७ लाख ३१ हजार ६६१ रुपैयाँ समावेस) रहेको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले एक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के रहेका छन् ।
बैंकले आर्थिक वर्ष २०७८÷७९ मा उक्त रकम सीईओलाई सञ्चय कोष, औषधी उपचार, सवारी साधन सुविधा, मोबाइल फोनको भुक्तानी लगायतसहित उक्त रकम तलब भत्ता दिएको जनाएको छ । सीईओलाई सवा करोड बढी तलब, भत्ता दिएको बैंकले अन्य पदाधिकारी (प्रबन्धक वा सो भन्दा उच्च पदस्थ पदाधिकारी तर सीईओ बाहेक तलब भत्ता बापत १७ करोड २ लाख ५७ हजार ३६३ रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अध्यक्षले प्रति भत्ता बापत १६ हजार र सञ्चालकले १४ हजार रुपैयाँ भत्ता लिएका छन् ।
सानिमा बैंक
सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड बढी तलब भत्ता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई पारिश्रमिक, भत्ता लगायतको सुविधा वापत २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
समीक्षा वर्षमा २०७८ माघ ११ गतेसम्म बैंकको सीईओ भुवन कुमार दाहल र २०७८ माघ १२ गतेदेखि भने निश्चल राज पाण्डे कार्यरत रहँदै आएका छन् । सो अवधिमा अन्य पदाधिकारीहरुलाई भने बैंकले ४ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवमा संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता वापत १३ हजार रुपैयाँका दरले र संचालकलाई प्रति बैठक भत्ता १२ हजार उपलब्ध गराएको छ ।
सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र पत्रिका, टेलिफोन, इन्टरनेट आदिका सेवाका लागि प्रतिसदस्य मासिक १२ हजार रुपैयाँ गराउने भएको छ । यस बाहेक अन्य कुनै सुविधा प्रदान नगरेको बैंकले जनाएको छ । संचालक समितिका सदस्यहलाई गत आवमा बैठक भत्ता बापत ३५ कलाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको बैंकले जनाएकोछ । सो भत्ता तथा सुविधाहरुमा प्रचलित कानून बमोजिम करकट्टी गरेर मात्र भुक्तानी गरिएको बैंकको भनाई छ ।
गत आवमा बैंकको व्यवस्थापन खर्च २ अर्ब ५२ करोड रु७ लाख ४६ हजार मध्ये कर्मचारी तलब, भत्ता तथा अन्य सुविधा बापत (कर्मचारी बोनस व्यवस्था समेत) १ अर्ब ५४ करोड ९४ लाख ९ हजार र अन्य संचालक खर्च ९७ करोड १३ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीईओ पाण्डेलाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ दिएको हो ।
आवमा सीईओ पाण्डेले तलब बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ, भत्ता १ करोड ७ लाख १७ हजार, दशंै भत्ता २२ लाख ३३ हजार र संचय कोष वापत १६ लाख ८ हजार रुपैयाँ सुविधा लिएका हुन् । बैंकका अनुसार सीईओको हकमा पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी बिल, सवारी चालक, इन्धन तथा मर्मत सम्भारसहित सवारी साधान सुविधा प्रदान गरिएको जनाएको छ ।
गत आवमा बैंकका अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकहरुले भने तलब बापत १४ करोड ६ लाख २३ हजार, भत्ता १० करोड १४ लाख ९३ हजार, दशै भत्ता १ करोड ९७ लाख ९६ हजार र संचय कोष १ करोड ४० लाख ६२ हजार रुपैयाँ बुझेका छन् । बैंकमा अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापकमा १३० जना रहेका छन् ।
मेगा बैंक
मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई करिब ३ करोड तलब भत्ता दिएको छ । बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलब, भत्ता दिएको हो ।
बैंकले तलब बापत १ करोड ४९ हजार ७६६ रुपैयाँ, भत्ता बापत १९ लाख ४२ हजार ८९३ रुपैयाँ, सञ्चय कोष बापत २ लाख ३७ हजार २३४ रुपैयाँ, बोनस बापत ४० लाख ४३ हजार ६९८ रुपैयाँ र इन्धन बापत ३ लाख ७५ हजार ३७५ रुपैयाँ भुक्तानी गरेको छ ।बैंकको निवर्तमान सीईओ अनुपमा खुञ्जेली को ४ वर्षको कार्यकाल सकेर बैशाख १ गते बैंक छोडेकी हुन् ।
बैशाख २ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । यस्तै बैंकले सञ्चालकलाई बैठक भत्ता वापत ५० लाख ५ हजार ६०५ रुपैयाँ भत्ता दिएको छ भने मोबाईल तथा पत्रपत्रिका बापत १० लाख ५८ हजार ४०० रुपैयाँ भत्ता दिएको जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आवमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामृकष्ण खतिवडालाई डेढ करोड रुपैयाँ भुक्तान गरेको छ ।
बैंकले सीईओ खतिवडालाई गत आवमा १ करोड ४८ लाख ९९ लाख १४९ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा भुक्तान गरेको हो । यस्तै, गत आवमा बैंकले नायव प्रमुख कार्यकारी अधिकृतलाई ६६ लाख ५२ हजार ७८२ रुपैयाँ दिएको छ । बैंकले लाई गत आवको पारिश्रमिक, भत्ता तथा सुविधा वापत उक्त रकम दिएको हो ।
गत आवमा बैंकले नायव महाप्रवन्धकहरुलाई १ करोड ४९ लाख ६९ हजार ८२० रुपैयाँ र प्रवन्धकहरुलाई २ करोड ६४ लाख ९९ हजार ५७७ रुपैयाँ दिएको छ । गत आवमा बैंकले संचालक समिति एवं संचालक स्तरीय अन्य समितिको बैठक भत्ता १० लाख ७० हजार, अन्य खर्च २ लाख ९८ हजार गरि कुल १३ लाख ६८ हजार रुपैयाँ कुल खर्च गरेको छ ।














