तीन बैंकसहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?

काठमाडौं । चार कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुष १३ गते) अन्तिम दिन रहेको छ । नेपाल बैंक, प्राइम कमर्सियल बैंक , मितेरी डेभलपमेन्ट बैंक र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरुले साधारण सभा प्रयोजनको लागि पुष १४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
नेपाल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत बोनस शेयर र कर समेत गरेर १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्याक्वेट बबरमहलमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।
मितेरी डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग बाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ बजे बोलाएको छ ।
हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अर्पण ब्याक्वेट काठमाडौंमा बिहान १० बजे बोलाएको छ ।