छुट्नु होला नि ! एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (पुष १९ गते) अन्तिम दिन रहेको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता शेयर छुट्याएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि भने ८४ हजार कित्ता शेयर विक्री गरिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म आईपीओ विक्री गरेको थियो ।
स्थानीयमा वितरण हुने कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नम्बर १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नम्बर ३, ४ (साविक नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरू तथा नयाँ बजार गाविसको वडा नम्बर ५) तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तीनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३, ४ र ५) का स्थानीय बासिन्दाहरूका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अतिप्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म यो शेयर खरीदको माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित स्थानीयले आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।













