वाणिज्य बैंकबाट एकदिनमै बाहिरियो १० अर्ब निक्षेप: ४ अर्बले बढ्यो कर्जा प्रवाह, सिडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । एकदिनमै १० अर्ब रुपैयाँले घटेर निक्षेप ४६ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार पुस २४ गते ४६ खर्ब ९० अर्ब रुपैयाँ रहेको निक्षेप एकदिनमै १० अर्ब रुपैयाँले घटेको हो ।
सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने वृद्धि भएको छ । आइतबार ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको कर्जा लगानी मंगलबारसम्म भने ४ अर्ब रुपैयाँले बढेको हो । मंगलबारसम्म बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब ३० अर्ब रुपैयाँ कायम भएको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप पनि एकदिनमै ७ अर्ब रुपैयाँ घटेको छ । आइतबार ५३ खर्ब २० अर्ब रुपैयाँ रहेको कुल निक्षेप एकदिनमै ७ अर्ब रुपैयाँले घटेको हो । सोमबार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब ११ अर्ब रुपैयाँ झरेको छ ।
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने एकदिनमा ५ अर्ब रुपैयाँले बढेको हो । आइतबारसम्म ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेको कर्जा लगानी सोमबार भने ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।
सो अवधिमा निक्षेप कर्जा अनुपात भने ८६.४० प्रतिशतबाट ८६.६५ प्रतिशतमा पुगेको छ ।