बैंक मर्जर कार्यक्रममा कविता सुनाउँदै भोजबहादुर शाहले भने– ‘मेरो छाती गर्वले फुलेको छ’
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले आजदेखि एकीकृत कारोबार थालनी गरेका छन् ।दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका हुन् ।
‘समृद्धिको पथमा अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ । मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ ।
काठमाडौमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोवार शुभारम्भ भएको घोषणा गरेका हुन् ।
सो कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यी मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्नुपर्ने आवश्यकता औल्याए ।
उनले दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै सेयरधनीहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।
उनले सोही अवसरमा अध्यक्ष शाहले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुँदा आफ्नो छातीले गर्वले फुलेको बताए । उनले आफ्नो कविता मार्फत यस्तो भाव व्यक्त गरेका हुन् ।
यस्तो छ अध्यक्ष शाहले सुनाएको कविता
सायद तिमिसंग मेरो साक्षात्कार नभएको भए,
मैले आफूलाई अधुरो ठान्ने थिए,
मेरो जुनि ज्यूनुको मतलब, अपुरो मान्ने थिए,
तर, आज मेरो जीवनको अर्थ पुरा भएको छ,
मेगा तिमि, एनआईविलसंग एकाकार हुँदै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएर
समृद्धिको पथमा अग्रसर भएको दिन
मेरो छाती गर्वले फुलेको छ













