वाणिज्य बैंकमा मर्जरको लहरः एक महिनामै आठ बैंकले थाले एकीकृत कारोबार, मर्जपछि कुन बैंक कत्रो ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

वाणिज्य बैंकमा मर्जरको लहरः एक महिनामै आठ बैंकले थाले एकीकृत कारोबार, मर्जपछि कुन बैंक कत्रो ?



काठमाडौं । वाणिज्य बैंकहरुमा मर्जरको लहर चलिरहेको छ । पछिल्लो एक महिनाको अवधिमा नै आधा दर्जन बैंकहरु मर्जरमा गएका छन् । पुस मसान्तभित्र मात्रै आठ वटा वाणिज्य बैंकहरु गाभिएर ४ वटा बनेका हुन् ।

पुस मसान्तभित्र मर्ज हुँदा धेरै सुविधा पाउने भएकाले पनि बैंकहरुले एकीकृत कारोबारको थालनी गर्न लागेका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंकहरुलाई निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट, वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिने केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाहरुले प्रदान गर्ने सुविधाका लागि पुस मसान्तभित्र नै कुमारी बैंक र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जपछि कुन बैंक कस्तो बन्यो ?

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक

बुधवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको एकीकृत कारोबार सुरु गरेका छन् । यी दुबै बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ । यी दुबैं बैंक १००ः९० को अनुपातमा मर्जरमा गएका हुन् ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ, कुल पूँजी ५८ अर्बभन्दा बढी, कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ, कुल निक्षेप ३६०.२ अर्ब, कर्जा लगानी ३२९.६ अर्ब हुनेछ । बैंकहरुको कुल ग्राहक संख्या ३० लाख बढी रहेको बैंकको दावी छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै ठुला वाणिज्य बैंकहरुमध्ये एक अग्रणी बैंक बनेको छ । त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६, एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ ।

मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे बनेका छन । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्योतिप्रकाश पाण्डे रहेका छन् । बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल रहनेछन् ।

बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला रहेका छन् । मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य, मुक्ति राम पाण्डे रहेका छन् । बैंकको स्वतन्त्र सञ्चालकमा भने मञ्जु बस्नेत रहेकी छिन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले पुस १७ गते अन्तिम स्वीकृति र कम्पनीले रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरमा जाने स्वीकृति दिएको हो । यी दुवै बैंक मर्जरमा जानका लागि गत जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो ।

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक

पुस २६ गते मंंगलबारदेखि प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार थालनी गरेका छन् । मर्जपछि बनेको नाम प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ ।

दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज भएका हुन् । बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ, चुक्ता पुँजी २३ अर्ब, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल ऋणा लगानी २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको जानकारी गराए । यस्तै, बैंकको शाखा संख्या ३ सय ६५, एटिएम सञ्जाल ३०९, एक्सटेन्सन काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी र ३ हजार ५३८ धेरै कर्मचारीहरु रहेका बैंकले जनाएको छ ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन भएका छन् । सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।

मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ । बैंकको तर्फबाट अध्यक्ष लिल प्रकाश सिटौला, रमेशसिंश खड्का, शंकरप्रसाद कालिकोटे, रामेश्वर सापकोटा रहने छन् । यता, सेञ्चुरीको तर्फबाट भने मन बहादुदर राई, अभिशेक बज्रचार्य, डा.गीता प्रधान संचालक रहनेछन् । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पुस २५ गते सोमबारदेखि एकीकृत सुरु गरेका छन् । मर्जपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबारको थालनी भएको हो ।

मर्जरपश्चात् बैंकको कुलपूँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्बभन्दा बढी पुगेको छ ।

मर्जपछि बनेको ग्लोबल आइएमई बैंकको नयाँ सञ्चालक समितिको अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन् । उनीसहित ग्लोबल आइएमईको तर्फबाट ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना संचालकमा रहनेछन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य, बिओकेका प्रमुख कार्यकारी अधिकत (सीईओ) श्रवण कुमार मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

मर्जर पश्चात् कुल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई मुलुकको सबै भन्दा ठूलो बैंक बनेको छ ।

यसका साथै बैंकले दक्षिण कोरियामा पनि शाखा संचालनका लागि पनि अन्तिम चरणमा रहेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते प्रारम्भिक सहमति गरेका थिए । यी दुवै बैंक एक आपसमा गाभिनका लागि बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय गरेको थियो ।

कुमारी र एनसीसी

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहेको छ ।

मर्जरपछि बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रूपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब २ अर्ब र कर्जा लगानी २ खर्ब ८० अर्ब रूपैयाँ छ । ३०६ वटा शाखा सञ्जाल, ४७ एक्सटेन्सन काउन्टर, ६२ शाखारहित बैकिङ र ३४५ वटा एटीएम पुगेको छ ।

बैंकको नयाँ संचालक समितिको अध्यक्षमा अमिर प्रताप राणा चुनिएका छन् । यस्तै, संचालकहरुमा उपेन्द्र केशरी न्यौपाने (एनसीसी पूर्व अध्यक्ष), चन्द्र बास्तोला (एनसीसी), इमान सिङ लामा (एनसीसी), कृष्ण प्रसाद ग्यवाली (कुमारी) र महेश पोख्रेल (कुमारी) चुनिएका छन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओ रामचन्द्र खनाल बनेका छन् ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्