नाफा लगायत अधिकांश सूचकमा पहिलो बन्यो नबिल बैंक, एनआईसी एशियासंग दाँजेर हर्दा यस्तो देखियो « Arthapath.com
२३ असार २०८२, सोमबार

नाफा लगायत अधिकांश सूचकमा पहिलो बन्यो नबिल बैंक, एनआईसी एशियासंग दाँजेर हर्दा यस्तो देखियो



काठमाडौं । नबिल बैंक र एनआईसी एशिया बैंकले सबैभन्दा धेरै नाफा कमाउने ठुला बैंक हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा पनि यी दुवै बैंक वाणिज्य बैंकहरुमध्ये नै धेरै नाफा कमाउने बैंक बनेका छन् । सो अवधिमा नबिल र एनआईसी एशिया बैंकले ३ अर्ब माथि नाफा गरेका छन् ।

नाफा बढी कमाउने मध्ये एनआईसी एशियालाई पनि पछि पार्दै नबिल बैंक पहिलो नम्वरमा देखिएको छ । वित्तीय रिर्पोट अनुसार अधिकांश सूचकहरुमा नबिल बैंकले एनआईसीलाई पछि पारेको छ । लगानीकर्ता र ग्राहकको रोजाई समेत परेका यी दुवै बैंक प्रतिस्पर्धीको रुपमा समेत हेरिँदै आएको छ ।

अब हेरौ कुन सूचकमा को अगाडि ?

खुद नाफा
चालु आवको दोस्रो त्रैमासमा खुद नाफामा नबिल बैंक अघि देखिएको छ । नबिल बैंकले सो अवधिमा एनआईसी एशियाको भन्दा १४ करोड ४३ लाख ६८ हजार रुपैयाँ बढी खुद नाफा गरेको छ । विवरणका अनुसार नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ५६.६७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो । यता, चालु आवको दोस्रो त्रैमासमा एनआईसी एशिया बैंकले भने ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा भने बैंकको नाफा ३६.२७ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी

खुद ब्याज आम्दानीमा पनि नबिल बैंक अगाडि देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा नबिल बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले वृद्धि भई ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको भने २०.१० प्रतिशतले बढेर ६ अर्ब २९ करोड ५७ लाख १३ हजार रुपैयाँ कायम भएको छ ।

कुल संचालन आम्दानी

चालु आवको दोस्रो त्रैमासमा नबिल बैंकको कुल संचालन आम्दानी ९ अर्ब ५१ करोड ६३ लाख १६ हजार रुपैयाँ छ । एनआईसी एशियाको यो आम्दानी भने ७ अर्ब ६२ करोड ५९ लाख ४२ हजार रुपैयाँ रहेको छ । कुल संचालन आम्दानीमा पनि नबिल बैंक नै अगाडि देखिएको छ ।

कुल संचालन मुनाफा

चालु आवको ६ महिनामा नबिल बैंकको संचालन मुनाफा ५६.०६ प्रतिशतले वृद्धि भई ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ छ । सो अवधिमा एनआईसी एशिया बैंकको संचालन मुनाफा भने ४ अर्ब ६९ करोड ३४ लाख ६३ हजार रुपैयाँ देखिएको छ । संचालन नाफा पनि नबिल कै बढी देखिएको छ ।

वितरण योग्य मुनाफा

चालु आवको दोस्रो त्रैमासमा नबिल बैंकको वितरण योग्य मुनाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ छ । एनआईसी एशिया बैंकको ३ अर्ब ७५ करोड २४ लाख ५५ हजार रुपैयाँ देखिएको छ । बैंकले लगातार दुई आर्थिक वर्षमा लाभांश वितरण गरेको छैन । वितरण योग्य नाफामा भने एनआईसी एशिया अघि देखिएको छ ।

निक्षेप संकलन र कर्जा प्रवाह

सो अवधिमा निक्षेप संकलन र कर्जा प्रवाहमा पनि नबिल बैंक अगाडि देखिएको छ । चालु आवको ६ महिनामा नबिल बैंकले कुल ३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यता, एनआईसी एशियाले सो अवधिमा कुल ३ खर्ब ५ अर्ब ८५ करोड ७७ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५६ अर्ब ८६ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

चुक्ता पुँजी र जगेडा कोष

नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले जगेडा तथा कोषमा भने २६ अर्ब ८१ करोड ९२ लाख ७० हजार रुपैयाँ राखेको छ । यता, एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ । बैंकको सो अवधिसम्ममा १२ अर्ब ८९ करोड ६७ लाख ५० हजार रुपैयाँ जगेडा कोषमा राखेको छ ।

खराब कर्जा

चालु आवको पुस मसान्तसम्ममा नबिल बैंकको खराब कर्जा २.९८ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको यस्तो कर्जा १.८७ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा एनआईसी एशियाको खराब कर्जा ०.६१ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको यस्तो कर्जा ०.४७ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी

प्रतिसेयर आम्दानीमा भने एनआईसी एशिया बैंक अगाडि छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको यो आम्दानी ५६ रुपैयाँ ७७ पैसा छ । यता, नबिल बैंकको भने २५ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिसेयर नेटवर्थ

प्रतिसेयर नेटवर्थमा पनि एनआईसी एशिया अघि छ । सो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ९७ पैसा छ । यता, नबिल बैंकको प्रतिसेयर नेटवर्थ भने १९९ रुपैयाँ १२ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्