११ श्रावण २०८३, सोमबार

कृषि, पशुपन्छी बीमामा जोड दिन दाबी भुक्तानीलाई सरल र छरितो बनाउन कम्पनीहरुलाई निर्देशन

कृषि, पशुपन्छी बीमामा जोड दिन दाबी भुक्तानीलाई सरल र छरितो बनाउन कम्पनीहरुलाई निर्देशन



काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न समेत उनले आग्रह गरेका हुन ।

गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्नुहुँदै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । साथै, उनले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु संचालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखे ।

कार्यक्रममा गोरखा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुृख कार्यकारी अधिकृत, राष्ट्रिय बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, अगुवा कृषक, संचारकर्मीहरु लगायत गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।