सेयर कारोबारबाट सरकारलाई जाने करमा भारी गिरावट, करिब ७ अर्ब रुपैयाँले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा पनि घटेको छ ।
चालु आर्थिक बर्ष २०७९/८० पुस मसान्तसम्म धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई प्राप्त हुने राजश्व ८४.६८ प्रतिशतले घटेको हो ।
गत आवको पुस मसान्तसम्म धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई ८ अर्ब ६ करोड ८७ लाख ७८ हजार रुपैयाँ राजश्व प्राप्त भएको थियो । तर, चालु आवको पुस मसान्तसम्म यस बापत १ अर्ब २३ करोड ५७ लाख १२ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । सीडीएससीले सेयर कारोबारबाट सरकारलाई जाने राजश्वको एकीकृत तथ्यांक राख्ने गर्दछ ।
सीडीएससीका अनुसार समिक्षा अवधीमा सरकारलाई दिर्घकालिन सेयर कारोबारबाट ४९ करोड १५ लाख ५८ हजार रुपैयाँ र अल्पकालिन सेयर कारोबारबाट ७४ करोड ४१ लाख ५३ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।
गत आवको सोही अवधीमा भने दिर्घकालिन सेयर कारोबारबाट २ अर्ब २२ करोड ६८ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने अल्पकालिन सेयर कारोबारबाट ५ अर्ब ८४ करोड १८ लाख ७९ हजार रुपैयाँ संकलन भएको हो ।
सेयर किनेको एक बर्षपछि बिक्री गरिन्छ भने, त्यो दिर्घकालिन सेयर कारोबारमा गणना गरिन्छ । त्यस्तो कारोबारबाट हुने नाफामा ५ प्रतिशत कर लाग्छ । यस्तै, सेयर किनेको १ बर्ष भित्र नै बिक्री गरिन्छ भने, त्यो अल्पकालिन सेयर कारोबारमा पर्छ । त्यस्तो कारोबारबाट हुने नाफाम ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने गर्छ ।
बिशेषगरि नेप्से परिसुचक घट्दा यसबापत सरकारलाई जाने राजश्व पनि कमी देखिएको हो । लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । गत वर्ष नेप्से परिसुचक बढ्दो क्रममा थियो । फलस्वरुप सेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताले नाफा कमाए, सोहीअनुसार गत आवमा यसबापत सरकारलाई जाने कर पनि बढी थियो ।
तर, यस बर्षको समिक्षा अवधीमा नेप्से परिसुचक अर्थात् सेयर बजारमा उच्च मात्रामा गिरावट आएको छ । सेयर बजार घट्दो ट्रेण्डमा छ । कहिलेकाँही सेयर बजारमा अस्थिरता पनि देखिएको छ । फलस्वरुप अधिकांश लगानीकर्ताले सेयर कारोबारमा घाटा बेहोर्नु परेको छ । त्यसपछि यसबापत सरकारलाई प्राप्त हुने राजश्व पनि घटेको लगानीकर्ताहरु बताउछन् ।