६८ प्रतिशतले बढ्यो गुलाब फूलको खपत, एक सातामा साढे तीन करोडको कारोबार
काठमाडौं । यस वर्षको प्रेम दिवसमा साढे ३ करोड रुपैयाँ बराबरको गुलाब फूलको व्यवसायिक कारोबार भएको छ ।
एक साताको अवधिमा करिब ३ करोड ४८ लाख रुपैयाँसम्मको व्यवसायिक कारोबार भएको हो । सो अवधिमा ३ लाख ४८ हजार स्टिम गुलाब फूलको खपत भएको फ्लोरिकल्चरा एशोसिएसन नेपालले जनाएको छ ।
यो गत वर्षको प्रेम दिवसमा भएको कारोबारको तुलनामा भने ६८.११ प्रतिशतले धेरै खपत भएको हो । गत वर्ष भने करिब २ लाख ७ हजार स्टिम गुलाबको कारोबार भएको थियो ।

यस वर्ष वर्ष बजार मागको ६० प्रतिशत काठमाडौं उपत्यका भित्रका शहरहरुमा र बाँकी ४० प्रतिशत बाहिरी मुख्य शहरहरमा खपत भएको फ्लोरिकल्चर एशोसिएसनका कार्यक्रम संयोजनक गंगा बहादुर तामाङले बताए ।
उनका अनुसार फूलको गुणस्तर अनुसार प्रति स्टिम ८० रुपैयाँदेखि १२० रुपैयाँको हाराहारीमा कारोबार भएको हो । यस वर्षको प्रेम दिवसको अवधिमा २ लाख ८० हजार स्टिम गुलाब फूलको माग हुने एशोसिएसनको अनुमान थियो ।

एशोसिएसनका अनुसार भ्यालेन्टाईन सप्ताहमा खपत हुने गुलाब फूलको आयातमा प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्रले रोक लगाएको थियो । तर, प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापन केन्द्रले गुलाब फूलको आयातका लागि अनुमती पत्रमा रोक लाउदा समेत सहजै गुलाब फूल आयात भएको एशोसिएसनले जनाएको छ ।
बजारमा गुलाब फूलको अभाव हुने देखेर व्यापारीहरुले खुल्ला बोडरको फाईदा उठाउदै बिभिन्न भन्सार नाकाहरुबाट चोरी निकासी गरी अनुमानित बजार माग भन्दा धेरै नै गुलाब फूल भित्रिएको एशोसिएसनले जनाएको छ ।













