मर्जरपछि यस्तो बन्ने छ नबिल बैंकको कर्मचारी संरचना « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

मर्जरपछि यस्तो बन्ने छ नबिल बैंकको कर्मचारी संरचना



काठमाडौं । चालु आर्थिक वर्षभित्र मर्जर गरिसक्ने गरी अघि बढेको नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले कर्मचारी समायोजन पनि मोटामोटी मिलाइसकेको छ । 

आषाढ महिनाभित्रै मर्ज गरेर एकीकृत कारोबारको तयारी गरेका दुई बैंकले सिनियर लेबलका कर्मचारीको टुङ्गो लगाएको छ । जसमा सीईओ ज्ञानेन्द्र ढुङ्गाना रहने सहमति भैसकेको छ । दोस्रो सिनियर डेपुटी सीईओमा नबिल बैंकका डेपुटी सीईओ रहेका सुजित शाक्य रहने छन् । 

अन्य डेपुटी सीईओमा क्रमशः विनय रेग्मी, मनोज ज्ञवाली र एनबि बैंकका कामु सीईओ रहेका भुपेन्द्र पाण्डे रहने सहमति भैसकेको छ । एनबि बैंकमा डेपुटी सीईओ रहेका कन्जरभेटिभ बैङ्कर सुरेन्द्र भुषण श्रेष्ठको भने हरिबिजोग हुने भएको छ । सुरेन्द्रले भिआरएसमा बाहिरिएनन् भने अपमानित तरिकाले नबिलबाट हट्नुपर्ने भएको छ । 

त्यसपछि अन्तर्राष्ट्रिय बैंकिङ र रणनीतिक विस्तार विज्ञको रुपमा रहेका आदर्श बजगाईं डीजीएमको रुपमा रहनेछन् । त्यसपछि एनबि बैंकका डेपुटी जनरल म्यानेजर रघुकृष्ण श्रेष्ठ र सलोनिका सिंह रहने बैंक स्रोतले जनाएको छ । 
 
नेपालको नम्बर १ नबिल बैंकले एनबि बैंकलाई अक्वायर गर्ने भएपछि धेरै कर्मचारीको बिल्लबाठ हुने देखिन्छ । नबिल बैंकले एनबिका अफिसर माथिका सबै कर्मचारीलाई एक तह घटुवा गर्ने जनाएको छ । एनबि बैंकमा अफिसर माथिका १ सय ८० जना रहेका छन् । 

नबिल बैंकले धेरै सिनियर लेबलका कर्मचारी नलिने जनाउ दिएपछि एनबि बैंकले १ साताअघि स्वैच्छिक अवकाश योजना सार्वजनिक गरेको छ । एनबिले कर्मचारीको लेबल अनुसार १५ वर्षभन्दा बढी सेवा गरेका तथा ५० वर्ष उमेर पुगेका कर्मचारीले अवकाशमा भाग लिन सक्ने गरी स्किम ल्याएको छ । 

एनबि बैंकले ल्याएको अवकाश योजनामा धेरै कर्मचारी आकर्षित हुने जनाइएको छ । बैंकले १५ महिनादेखि २४ महिनासम्मको सेवा सुविधा लिएर जानसक्ने अवकाश योजना ल्याएको छ । जसमा पियन र ड्राइभरले २४ महिनाको सुविधा पाउनेछन् भने डेपुटी सीईओ सुरेन्द्र भुषण श्रेष्ठले १५ महिने अवकाश योजनाबाट बाहिरिने बुझिएको छ । 
     


प्रतिक्रिया दिनुहोस्