स्टाण्डर्ड चार्टर्डको आधार दर एक वर्षमै दोब्बर: सिभिल र सिटिजन्सको खर्चै बढी, सस्तो ऋण दिने क्षमता सरकारी बैंकको « Arthapath.com
२५ कार्तिक २०७९, शुक्रबार

स्टाण्डर्ड चार्टर्डको आधार दर एक वर्षमै दोब्बर: सिभिल र सिटिजन्सको खर्चै बढी, सस्तो ऋण दिने क्षमता सरकारी बैंकको



काठमाडौं । हुन त, अहिले बैंकहरुसँग लगानी गर्ने पर्याप्त पैसा छैन । ठूलो रकमको चेक साट्नै बैंकलाई कठीन हुन थालेको छ । निक्षेपको ब्याजदर बढिरहेको छ । यसले बैंकहरुको पूँजीको लागत पनि बढेको छ । तरलता अभाव भएपछि बैंकले निकै बढी प्रिमियम तिराएर आफूहरुमाथि घोर अन्याय गरेको भन्दै व्यवसायीहरु सडकमा उत्रिरहेको अवस्था पनि छ ।

यस्तो बेला पनि बैैंकले साँच्चै ऋणीलाई कतिसम्म ब्याज लिन सक्छन् वा लिनै पर्ने बाध्यता हुन्छ भनेर मापन गर्ने आधार भनेको ‘आधार दर’ हो । निक्षेपकर्तालाई तिर्नुपर्ने दायित्वमात्रै होइन, बैंकका सबै कर्मचारीको तलव सुविधा र सम्पूर्ण कार्यालय सञ्चालनका यावत दायित्व समेटेर यस्तो आधार दर तय गरिन्छ । बैंकले नाफा नराखी ऋण दिने हो भने आधार दरकै बराबर ब्याजमा कर्जा दिन सक्छन् । यो बैंकहरुको कार्यकुशलता मापन गर्ने विधी पनि हो ।

कम सञ्चालन खर्च र सस्तो निक्षेप चलाउन पाउने बैंकको आधार दर कम हुन्छ । जुन बैंक बढी भद्रगोलमा चलेको छ, राम्रोसँग व्यवसाय विस्तार गर्न सकेको छैन र बढी ब्याज तिरेरै भए पनि कारोबार धान्नुपर्ने हम्मेहम्मेमा चलेको छ, ती बैंकको आधार दर पनि बढी हुन्छ ।

ऋण लिन चाहनेहरुले पनि आधार दर हेरेरै कर्जाका लागि बैंक छनोट गर्छन् । कुन बैंकले सस्तो ब्याजमा ऋण दिन सक्छ भन्ने अनुमान यसैका आधारमा लगाउन सकिन्छ । कम आधार दर भएको बैंकले बजारमा प्रतिस्पर्धी ब्याजमा कर्जा दियो भने पनि उसलाई पर्याप्त नाफा सुरक्षित गर्ने ठाउँ रहन्छ । आधार दर कम भएका बैंकले बढी प्रिमियम लगाउँदा पनि बढी आधार दर भएका बैंकले लिने कर्जाको ब्याजदरसँग प्रतिस्पर्धी हुन्छन् । यसले आधार दर कम हुनु भनेको बैंकको नाफाका हिसाबले पनि सकारात्मक हुन्छ ।

अब हामीले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा बाणिज्य बैंकहरुको आधार दरको तुलना गरौं । यसरी हेर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा कम आधार दर भएको बैंकको रुपमा देखिन्छ । यो नौलो घटना भने होइन । सरकारले सबै जसो सार्वजनिक भुक्तानीका लागि यही बैंकको खाता प्रयोग गर्ने भएकाले यो बैंकमा धेरै मात्रामा सरकारी पैसा जम्मा हुन्छ, जसका लागि बैंकले खासै ब्याज तिर्नु पर्दैन ।

राष्ट्रिय बाणिज्य बैंकलाई पछाडी राखेर हेर्ने हो भने पनि अर्ध–सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंक दोस्रो नम्बरमा आउँछ । यो बैंकले राष्ट्रिय बाणिज्य बैंककै हाराहारी अर्थात् ९ प्रतिशतभन्दा पनि सस्तोमा कर्जा दिनसक्ने सामथ्र्य राख्छ । गत असोज मसान्तको यो तथ्यांकले धेरैलाई चकित पार्न सक्छ । किनकी, अहिले धेरै बैंकले ब्याजदर बढाएर १४ देखि १८ प्रतिशतसम्म पुर्याइ सकेका छन् ।

तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेण्ट बैंक पर्छ । गत सालको तुलनामा केवल २ प्रतिशत विन्दु हाराहारीमात्रै आधार दर बढाएको यो बैंकले अहिले पनि ९.१८ प्रतिशतमै कर्जा दिन पनि सक्ने अवस्था छ । धेरैजसो निक्षेप सस्तो ब्याजमा लिएको र सञ्चालन खर्च पनि कम भएका कारण यो बैंकको आधार दर कम भएको हो ।

अन्तरराष्ट्रिय भुक्तानीका लागि नेपालमा एजेन्सी बैंकिङ गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड चौंथो स्थानमा आउँछ । हुन त, यो बैंकले पछिल्लो एक वर्षमा सबैभन्दा फराकिलो अन्तरले आधार दर बढाएको छ । गत सालको असोजको तुलनामा यो वर्ष ४.०८ प्रतिशत विन्दुले आधार दर बढाएको यो बैंकले अहिले पनि ९.२६ प्रतिशतमा आफ्नो सबै लागत उठाउने क्षमता राख्छ ।
एभरेस्ट, नबिल र कृषि विकास बैंकले पनि असोज मसान्तसम्मै आधार दरलाई एकल अंकमा राख्न सफल भएका थिए । कात्तिकमा सबै निक्षेपको ब्याजदर बढेपछि यी बैंकको आधार दर पनि बढेको छ ।

तर असोजकै तथ्यांक केलाउने हो भने सिटिजन्स बैंक सबै बाणिज्य बैंकमध्ये सबैभन्दा अप्ठेरो अवस्थामा गुज्रिरहेजस्तो देखिन्छ । यो बैंकले सबैभन्दा महँगो ब्याजमा निक्षेप लिनु परिरहेको छ । तुलनात्मक रुपमा धेरै ठूलो व्यावसायिक सञ्जाल नभए पनि यसको सञ्चालन खर्च बढी देखिन्छ । प्रदीपजंग पाण्डे लगायतको लगानी रहेको यो बैंकको अधार दर असोजमा ११.१४ प्रतिशत छ, यो सबैभन्दा बढी हो ।

यसपछि सिभिल बैंक बढी आधार दरमा चलिरहेको छ । बाँकी सबै बैंकहरु १० देखि ११ प्रतिशतको बीचमा आधार दर राखेर चलेको देखिन्छ । पछिल्लो एक वर्षमा आधार दरमा भारी बृद्धि गर्ने काम स्ट्याण्डर्ड चार्टर्डले गर्यो । त्यसपछि नबील, राष्ट्रिय बाणिज्य, एनआईसी एसिया, कुमारी, लक्ष्मी, सानिमा र सिटिजन्सले आधार दर निकै बढाएका थिए ।

कात्तिकमा निक्षेपको ब्याजदर बढ्नु अघि मेगा बैंक भने सबैभन्दा सुविस्ताजनक ढंगले चलेको देखिन्छ । मेगाले अघिल्लो वर्षको तुलनामा केवल १ प्रतिशत विन्दुले मात्रै आधार दर बढाएको छ, यो पुरै कमर्शियल बैंकिङ इन्डस्ट्रिमा सबैभन्दा कम हो । आधार दर बढाउन कञ्जुस्याईँ गर्नमा मेगालाई नेपाल एसबीआई, एनएमबी, एभरेस्ट, बीओके र नेपाल इन्भेष्टमेण्टले पच्छ्याए । अर्थात् यी बैंकबाट लिएको ऋणको ब्याज अहिले पनि धेरै बढिसकेको छैन हो, यदी बैंकले ग्राहकमाथि प्रिमियमको भारी नथपेका हुन् भने ।


प्रतिक्रिया दिनुहोस्