‘नाडा अटो शो’ मार्फत कर्जा बढाउन बैंकहरुको ब्याजदरमा प्रतिस्पर्धा, कसले कतिमा दिदैँछन् कर्जा ? « Arthapath.com
२७ भाद्र २०८०, बुधबार

‘नाडा अटो शो’ मार्फत कर्जा बढाउन बैंकहरुको ब्याजदरमा प्रतिस्पर्धा, कसले कतिमा दिदैँछन् कर्जा ?



काठमाडौं । मङ्गलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । यति बेला बैङ्कहरूले नाडा अटो शो लक्षित गरेर विभिन्न कर्जा योजनाहरू ल्याएका छन् । 

पछिल्लो समय सुस्त रहेको कर्जा लगानी बढाउनका लागि बैङ्कहरूले धमाधम अटो कर्जा योजना ल्याएका हुन् । विभिन्न ब्रान्डका गाडी बिक्रेतासँगको सहकार्यमा बैङ्कहरूले आ–आफ्नै ब्याजदर निर्धारण गरी नयाँ नयाँ योजना सार्वजनिक गरेका  छन् । 

अहिले कर्जाको डिमान्ड नै हुन नसकेको अवस्था छ, जसले बैङ्कहरूले लगानी बढाउन पनि सकिरहेका छैनन् । यस्तो अवस्थामा सुस्ताएको अटो व्यवसायलाई चलायमान बनाउने गरी बैङ्कहरूले कर्जाको स्किमहरू ल्याएका हुन् । 

नाडा अटो शोमा हालसम्म विभिन्न आठ वटा वाणिज्य बैङ्कहरूले अटो कर्जाको स्किम ल्याएका छन् । बैङ्कहरूले छुट्टा छुट्टै स्टल नै राखेर आगन्तुक ग्राहकलाई कर्जाको बारेमा जानकारी गराइरहेका छन् । हालसम्म नबिल बैङ्क, प्रभु बैङ्क, ग्लोबल आइएमई, सानिमा, हिमालयन, लक्ष्मी सनराइज, महालक्ष्मी विकास बैङ्क र कामना सेवा विकास बैंकले अटो कर्जा दिने भएका हुन् ।

नाडा अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकको सहजताका लागि फाइनान्सिङ सेवा प्रदान गर्न स्टल राखिएको बैङ्कका प्रतिनिधिहरू बताउँछन् । ‘नाडा अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि हामीले फाइनान्सिङ सेवा दिन स्टल राखेका छौँ । यसमा विभिन्न छुट र कम ब्याजदर लगायतको सुविधाहरू छन्’ महालक्ष्मी विकास बैङ्क एक प्रतिनिधिले बताए । बैङ्कहरूले विभिन्न प्याकेजहरूसहित योजना अघि सारेका हुन् । 

बैङ्क तथा वित्तीय संस्थाहरूले नै अटो व्यवसायलाई चलायमान बनाउन मुख्य भूमिका रहने भएकाले यसका लागि नाडा र बैंकरबीच सहकार्य भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । उनले भने,–‘अटो व्यवसायलाई गतिशील बनाउन बैङ्क तथा वित्तीय संस्थाको भूमिका ठुलो हुन्छ । नाडा र बैंकरहरुबीच सहकार्यको प्रतिबद्धता भएका छ।  बैङ्कहरूले छुट्टा छुट्टै प्याकेज तथा अफरहरू ल्याएर अटो क्षेत्रलाई चलायमान बनाउन सहयोग गरेका छन् ।’ 

भदौ ३१ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा १२० वटा स्टल तथा ब्लकहरू छन् । उक्त प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुजाका साथै राष्ट्रिय ब्रान्डका नदी सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूले सहभागिता जनाएका छन् । 

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका नाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा विकेन्ट, टायर प्याटरी पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ ।

विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरूको सुविधालाई विशेष ध्यानमा राखी २– पाङग्रे, ४– पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शन राखिएको छ । विशाल प्रदर्शनीमा  विद्युतीय सवारी तथा पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरू देख्न पाइन्छ । 

विभिन्न ब्रान्डका गाडी वितरकहरूले पनि आफ्नै प्याकेजहरु ल्याएका छन् । गाडी बिकाउन कम्पनीहरूले छुट्टा छुट्टै योजना अघि सारेका हुन् । शोमा बढी आकर्षण विद्युतीय सवारीमा देखिन्छ । विद्युतीय गाडी नै बैङ्कहरूले कर्जा लगानी बढाउन  खोजेको पाइन्छ । पेट्रोलियम पदार्थबाट चल्ने गाडी भन्दा धेरै सुविधा इभि लोनमा बैङ्कहरूले केन्द्रित देखिन्छ । 

कुन बैङ्कले कति ब्याजमा दिन्छन् अटो लोन ?

नबिल बैङ्कले स्थिर ब्याजदरमा इभि कर्जा दिने, नन् इलेक्ट्रिकमा ५० प्रतिशत डाउन पेमेन्टपछि फाइनान्सिङ

नबिल बैङ्कले नाडा अटो शो लक्षित कर्जा योजना अघि सारेका छ । बैङ्कले स्थिर ब्याजदरमा विभिन्न अवधिका लागि लोन प्रदान गर्ने जनाएको छ । बैङ्कले ईभीको खरिदमा ५ र ७ वर्ष अवधिका लागि  स्थिर ब्याजदरको कर्जा सुविधा प्रदान गर्ने भएको छ । 

पाँच वर्ष अवधिमा १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको हो । ‘हामीले पाँच वर्ष अवधिको इभी लोनमा १०.४९ प्रतिशत र सात वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । सोही आधारमा नै हामीले विद्युतीय गाडी खरिदमा ग्राहकहरूलाई फाइनान्सिङ सुविधा प्रदान गरिनेछ’– बैङ्क एक प्रतिनिधिले बताए ।

तर, डिजेल तथा आईसी इन्जिनका सवारीमा भने ५० प्रतिशत डाउन पेमेन्ट आवश्यक हुने बैङ्कले जनाएको छ । त्यस्ता प्रकारका गाडीमा ५० प्रतिशत डाउन पेमेन्टमा मात्रै फाइनान्सिङ सुविधा प्रदान गरिने बैङ्कले जनाएको छ । 

निजी तथा कमर्शियल विद्युतीय सवारीमा ग्लोबल आईएमई बैङ्कको जोड

ग्लोबल आईएमई बैङ्कले अटो कर्जाका लागि विभिन्न योजना ल्याएको छ । बैङ्कले विद्युतीय निजी तथा कमर्शियल सवारी खरिदमा छुट्टा छुट्टै अफर अघि सारेको हो । 

नाडा अटो शोमा ग्लोबलले निजी विद्युतीय सवारी खरिदमा १०.४९ प्रतिशत ब्याजदर फाइनान्सिङ सुविधा दिने जनाएको छ । तर, ०.५० प्रतिशत सेवा शुल्कमा फाइनान्सिङ गरिने बैङ्कले भनाई छ । यता, कमर्शियल विद्युतीय सवारीमा खरिदमा भने ११.४९ प्रतिशत ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा रहेको बैङ्कले जनाएको छ । 

त्यस्तै, फ्यूल इन्जिन तर्फ १०.९९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत, कमर्शियल सवारी खरिद तर्फ १२.४९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्क लिएर कर्जा सुविधा दिइने बैङ्कले जनाएको छ ।

यद्यपि, नाडा अटो शो अवधिभरका लागि भने फिक्सड १०.९९ प्रतिशत ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा समेत फाइनान्सिङ सुविधा रहेको बैङ्कले जनाएको छ । परिवर्तनीय ब्याजदरमा १.५ प्रतिशत प्रिमियम थप गरी ०.५० प्रतिशत सेवा शुल्कमै पनि कर्जा लगानी गर्ने बैङ्कले जनाएको छ । 

प्रभु बैङ्क पनि विद्युतीय सवारीमै केन्द्रित 

प्रभु बैङ्कले पनि अटो कर्जा लगानी बढाउन जोड दिएको छ । तर, बैङ्कले विद्युतीय सवारी केन्द्रित देखिन्छ । बैङ्कले विद्युतीय सवारी खरिदमा प्रिमियममा २ प्रतिशत थपिने जनाएको छ। 

बैङ्कले हाल कायम आधार दरमा २ प्रतिशत प्रिमियममा कर्जा लगानी गर्ने भएको हो । तर, नाडा अटो शो अवधिभर भने १ प्रतिशत मात्रै प्रिमियममा कर्जा दिने बैङ्कले जनाएको छ । उक्त कर्जाको अवधि भने ५ वर्षको हुने बैङ्कले जनाएको छ । अटो शोमार्फत सवारी बुकिङ गरेर एक महिनाभित्र बैङ्कमा फाइनान्सिङमा जाँदा पनि सुविधा पाइने बैङ्कले जनाएको छ ।

सस्तो ब्याजदरमा फाइनान्सिङ सुविधा दिँदै लक्ष्मी सइनराज 

लक्ष्मी सइनराज बैङ्कले पनि सस्तो ब्याजदरमा फाइनान्सिङ सुविधा दिने भएको छ । विशेषगरि बैङ्कले विद्युतीय सवारी खरिदमा नै त्यस्तो सुविधा प्रदान गर्ने भएको हो । बैङ्कबाट विद्युतीय सवारी खरिदका लागि ऋण लिँदा आधार दरमा १ प्रतिशत प्रिमियम जोडिनेछ । तर, डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि आधार दरमा १.५ प्रतिशत प्रिमियम थपिनेछ ।

दुवै प्रकारका सवारी खरिदमा भने पाँच वर्ष अवधिका लागि १२.५ प्रतिशत ब्याजमा अर्थात् फिक्स्ड रेटमा फाइनान्सिङ सुविधा दिन सकिने बैङ्कले जनाएको छ। यद्यपि, नाडा अटो शो अवधिभरका लागि भने बैङ्कले सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिने जनाउको छ ।  

सानिमा बैङ्कले स्थिर ब्याजदरमा ऋण दिने 

सानिमा बैङ्कले पनि नाडा अटो लक्षित स्थिर ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ । बैङ्कले विद्युतीय तथा डिजेल पेट्रोलबाट चल्ने गाडीमा स्थिर ब्याज लागू  हुने जनाएको छ ।

दुवै प्रकारका सवारी खरिदमा ७ वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा स्थिर ब्याजमा कर्जा सुविधा प्रदान गरिने बैङ्कले जनाएको छ । तर, उक्त सुविधाका लागि भने नाडा अटो शोमा गाडी बुकिङ गर्नुपर्नेछ । बैङ्कले कर्जा सेवा शुल्क भने ०.५ प्रतिशत मात्रै लिइने भएको हो । 

हिमालयन बैङ्कले ११.९९ प्रतिशतमा फाइनान्सिङ सुविधा दिने 

हिमालयन बैङ्कले पनि ११.९९ प्रतिशत  ब्याजमै फाइनान्सिङ  सुविधा दिने भएको छ । बैङ्कले विद्युतीय र डिजेल पेट्रोलबाट चल्ने गाडी खरिदमा सो बराबरको ब्याजदरमा उक्त सुविधा दिने भएको  हो । तर, यो सुविधा आगामी नोभेम्बर १३ सम्म लागू हुनेछ । कर्जाको अवधि भने ८ वर्ष सम्मको हुने बैङ्कको भनाई छ । 

कामना सेवा विकासले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा

कामना सेवा  विकास बैङ्कले पनि विद्युतीय सवारीमै केन्द्रित कर्जा योजना अघि सारेको छ । बैङ्कले विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने भएको हो । यसमा वार्षिक ब्याजदर भने ११.९५ प्रतिशत निर्धारण गरेको छ । 

बैङ्कले आधार दरमा शून्य दशमलव १४ प्रतिशत प्रिमियममै कर्जा सुविधा दिने भएको हो । यद्यपि, यो नाडा अटो शो अवधिभरका लागि मात्रै रहेको बैङ्कले जनाएको छ । यसका लागि प्रशासनिक शुल्क ०.७५ प्रतिशत मात्रै कायम गरेको छ । 

महालक्ष्मी विकास बैङ्कले ३ वर्षका लागि अटो कर्जा

महालक्ष्मी विकास बैङ्कले पनि तीन वर्ष अवधिका लागि अटो कर्जा सुविधा दिने भएको छ । बैङ्कले विद्युतीय सवारी तथा डिजेल पेट्रोलबाट चल्ने गाडी खरिदमा कर्जा लगानी गर्ने भएको हो ।

बैङ्कले १२.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा सुविधा दिने भएको छ । बैङ्कले ३ करोड रुपैयाँसम्म अटो कर्जा दिने सुविधा अघि सारेको हो । यसको अवधिमा भने ३ वर्षको हुनेछ । 


प्रतिक्रिया दिनुहोस्