थोरै शाखाबाट धेरै आन्दानी गर्न सानिमा बैंक खप्पिस, पछ्याउँदै हिमालयन, नबिल र एभरेस्ट

काठमाडौं । कयौँ नियामकीय छुट प्राप्त गरेको होलसेल कारोबारमा केन्द्रित स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई् छाड्ने हो भने सानिमा बैंक सबैभन्दा प्रभावकारी वित्तीय संस्थाको रुपमा देखिएको छ । थोरै शाखाबाट ठुलो कारोबार गर्ने सामर्थ्य हुनु बैंकको प्रभावकारिताको एक सूचक हो ।
सानिमा बैंक यो सूचीमा सबैभन्दा अगाडी छ । अधिकतर गैर आवासीय नेपालीहरूले प्रवर्द्धन गरेको यो बैंक अहिले पनि जम्मा १०५ शाखाबाट कारोबार गरिरहेको छ । जबकि प्रतिस्पर्धी बैंकहरुले यसको साढे ३ गुणासम्म शाखा सञ्चालन गरिरहेका छन् ।
सानिमाले अहिले पनि एउटा शाखाबाट औसतमा डेढ अर्ब कर्जा प्रवाह गरेको छ । केबल १२ वटा शाखा सञ्चालन गरेर प्रतिशाखा औसत ७ अर्ब ६१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको स्ट्याण्डर्ड चार्टर्डलाई छाड्ने हो भने सानिमा कम शाखा भएको दोस्रो वाणिज्य बैंक हो । भारतीय स्टेट बैंकको लगानीमा खुलेको नेपाल एसबीआई बैंक चार्डर्डपछि कम शाखामा सञ्चालित छ ।
केवल १०० शाखा भए पनि नेपाल एसबीआईको कारोबार तुलनात्मक रूपमा कम छ । बरु गत साल सिभिल बैंक गाभेपछि पनि हिमालय बैंकको प्रतिशाखा कारोबार उच्च छ । देशभर १७५ शाखाबाट कारोबार गरिरहेको हिमालयनले प्रतिशाखा १ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ ।
वाणिज्य बैंकहरुको शाखा सङ्ख्या र प्रतिशाखा कर्जा रकम (रू. हजारमा) :

कर्जा लगानीका हिसाबले देशकै दोस्रो ठुलो बैंक नबिल पनि यो सूचीमा निकै अगाडी छ । २६६ शाखामार्फत कारोबार गरिरहेको नबिलले प्रतिशाखा १ अर्ब ४० करोडभन्दा बढी कर्जा परिचालन गरेको छ । १२७ वटा शाखा भएको एभरेस्ट बैंकले प्रतिशाखा १ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । त्यसपछि मात्रै नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र ग्लोबल आईएमईको स्थान आउँछ ।
यो सूचीको पुछारमा कृषि विकास बैंक छ । ग्रामीण कृषि अर्थतन्त्रलाई सबलीकरण गर्ने भनेर खोलिएको यो संस्था पछि वाणिज्य बैंकमा रूपान्तरित भयो । तर अहिले पनि कृषि विकास बैंक तुलनात्मक रूपमा राम्रो हालतमा आउन सकेको छैन । २७४ शाखा रहेको यो बैंकले प्रतिशाखा औसत ७० करोडभन्दा पनि कम कर्जा प्रवाह गरेको छ ।
कुन बैंकको कति छन् शाखा ?

अर्थात् कृषि विकासका ११ वटा शाखाले जति कर्जा प्रवाह गरेको छ, त्यति रकम सानिमाले केवल ५ वटा शाखाबाटै लगानी गरेको छ । सर्वाधिक ३६० शाखा भएको एनआईसी एसियाले पनि प्रतिशाखा औसत ८४ करोड लगानी गरेको छ । माछापुच्छ्रे, प्रभु, नेपाल बैंक र सिटिजन यस सूचीमा एनआईसी भन्दा पछाडि छन् ।