साढे ३ अर्बले बढ्यो जीवन बीमा व्यापार: व्यवसायमा नेपाल लाइफकै अग्रता, शीर्ष सूचीमा एलआईसी, हिमालयन र नेशनल « Arthapath.com
१३ मंसिर २०८०, बुधबार

साढे ३ अर्बले बढ्यो जीवन बीमा व्यापार: व्यवसायमा नेपाल लाइफकै अग्रता, शीर्ष सूचीमा एलआईसी, हिमालयन र नेशनल



काठमाडौं । जीवन बीमा कम्पनीहरूले व्यापार बढाएका छन् । हाल सञ्चालनमा रहेका १४ वटा कम्पनीहरूले चार महिनामा साढे ४९ अर्बको व्यापार गरेका हुन् । 

चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा भने ७.४४ प्रतिशत अर्थात् ३ अर्ब ४२ करोड ४८ लाख रुपैयाँले बढी हो । 

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।  गत आवको कात्तिक मसान्तसम्ममा भने कम्पनीहरूले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । यद्यपि, व्यवसाय वृद्धिदर भने एकल अङ्कमै देखिएको छ । केही वर्ष अघिसम्म कम्पनीहरूको व्यवसाय दोहोरो अङ्कले वृद्धि हुने गरेको थियो ।

आर्थिक शिथिलताले  व्यवसाय उत्साहजनक रूपमा बढ्न सकिरहेको छैन । तर, पछिल्लो समय भने जीवन बीमा व्यवसायमा सुधारको सङ्केत भने देखिएको छ । विश्वव्यापी रूपमा बढ्दो बजार महँगी र आर्थिक सङ्कटका कारण उपभोक्ताहरूको जीवनयापनमा लागत पनि बढेको छ । त्यसले आम मानिसहरूको बीमा पोलिसी खरिद गर्ने क्षमता पनि घटेको छ । यस्ता खालका समस्याले पनि बीमा व्यापार बढ्न सकिरहेको थिएन । यद्यपि, पछिल्लो समय भने बिस्तारै बढ्न थालेको प्राधिकरणले जनाएको छ । बीमा बजारका लागि लिएको केही नीतिगत परिवर्तनहरूले पनि व्यवसायमा सकारात्मक प्रभाव पारेको प्राधिकरणको दाबी छ । 

व्यवसायमा नेपाल लाइफकै अग्रता, चार महिनामा साढे १३ अर्बको व्यापार

चालु आवको चार महिनामा सबैभन्दा धेरै व्यवसाय भने नेपाल लाइफले गरेको छ । समीक्षा अवधिमा कम्पनीले कुल १३ अर्ब ४३ करोड ७६ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४ प्रतिशतले बढी हो । कात्तिकसम्ममा कम्पनीले २ अर्ब ११ करोड लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको छ । यस्तै नवीकरण मार्फत भने ११ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

एलआइसीलाई पच्छ्याउँदै हिमालयन र नेशनल लाइफ, ५ अर्ब माथिको व्यापार 

चालु आवको कात्तिक मसान्तसम्ममा तीन कम्पनीको व्यवसाय भने ५ अर्ब माथि देखिएको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर, यो गत आवको तुलनामा भने ३.४७ प्रतिशतले कमी हो । यद्यपि, एलआइसी नेपाल सबैभन्दा धेरै व्यापार गर्नेको दोस्रो सूचीमा छ । 

यस्तै,  तेस्रो सूचीमा रहेको हिमालयन लाइफले पनि ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको यस्तो शुल्क गत आवको सोही अवधिको तुलनामा भने ७.७० प्रतिशतले बढी हो । यता, नेशनल लाइफले पनि ५ अर्ब २९ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

 वृद्धिदरमा राष्ट्रिय जीवन बीमा अगाडि, अन्य कुनको कति ?

व्यवसाय वृद्धिदरमा भने राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । कम्पनीले गत आवको कात्तिकसम्ममा १ अर्ब ४८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क उठाएको थियो । तर, चालु आवको सोही अवधिमा भने १८५.५८ प्रतिशतले बढाएर ४ अर्ब  २३ करोड रुपैयाँ पुर्‍याएको छ ।

यस्तै, समीक्षा अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ७६ करोड २१ लाख, एशियन लाइफले २ अर्ब ३६ करोड ५१ लाख, सानिमा रिलायन्सले  १ अर्ब ८९ करोड ४३ लाख, सिटिजन लाइफले १ अर्ब ७८ करोड ७० लाख,  मेट लाइफले १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

यता, प्रभु महालक्ष्मी लाइफले चार महिनामा १ अर्ब ३७ करोड ३७ लाख, आइएमई लाइफले १ अर्ब ३० करोड ३४ लाख, रिलायवल नेपालले १ अर्ब २१ करोड २६ लाख र सन नेपाल लाइफले १ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

स्रोत: नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्