बीमितमैत्री सेवामा अब्बल कहलिँदै आइएमई लाइफ, मासिक कति गर्छ दावी भुक्तानी ? « Arthapath.com
१ चैत्र २०८०, बिहीबार

बीमितमैत्री सेवामा अब्बल कहलिँदै आइएमई लाइफ, मासिक कति गर्छ दावी भुक्तानी ?



काठमाडौं । व्यापार विस्तारमा आक्रामक रुपले अघि बढेको आइएमई लाइफ इन्स्योरेन्स बीमितमैत्री बीमितमैत्री सेवामा प्रतिवद्ध देखिएको छ । कम्पनीले दावी भुक्तानीमा पनि उत्तिकै अग्रसरता देखाएको हो ।

दावी परेको छोटो समयमा नै बीमितलाई झनझटरहित तबरबाट कम्पनीले भुक्तानी दिँदै आएको छ । ८ महिनाको अवधिमा नै कम्पनीले झन्डै १४ करोड दावी भुक्तानी दिएको छ । कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा १३ करोड ८९ लाख ३७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो ।

समिक्षा अवधिमा कम्पनीले २३८ वटा बीमालेखलाई सो बराबरको भुक्तानी गरेको छ । तथ्याङ्क अनुसार कम्पनीले मासिक औसत १ करोड ७३ लाख रुपैयाँ दावी भुक्तानी दिएको देखिन्छ । औसतमा एक महिनामा २९ वटा बीमालेखमा सो बराबरको भुक्तानी गरेको हो ।

फागुनमा मात्रै कम्पनीले १ करोड ४४ लाख ७५ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ। सो महिनामा ३५ वटा बीमालेखमा सो बराबरको भुक्तानी गरेको हो । यस्तै, गत माघमा पनि कम्पनीले २२ वटा बीमालेखमा ९३ लाख ३२ हजार, पुसमा ३८ वटा बीमालेखमा १ करोड ८७ लाख ७९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको थियो ।

कम्पनीले गत मंसिरमा ३ करोड २२ लाख ६२ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । जुन चालु आवमा हालसम्मकै धेरै हो । मंसिरमा कम्पनीले ३५ वटा बीमालेखमा सो बराबरको दावी भुक्तानी दिएको हो ।

यस्तै, कात्तिकमा ५५ लाख ५९ हजार, असोजमा २ करोड ७१ लाख २२ हजार, भदौमा १ करोड ६४ लाख ९९ हजार र साउनमा १ करोड ४९ लाख ७ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो । यी महिनामा कम्पनीले क्रमश: १२ वटा, ४८ वटा र २२ वटा बीमालेखमा सो बराबरको दावी भुक्तानी दिएको हो ।

दावी परेको छोटो समयमा नै आइएमई लाइफले भुक्तानी गर्ने गरेको कम्पनीका प्रतिनिधि बताउँछन् । ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको उनले बताए । पछिल्लो समय बीमा कम्पनीहरुले दावी भुक्तानी समयै नदिएको गुनासो पनि उत्तिकै बढ्दो नै छ । तर, आइएमई लाइफले बीमितको सेवालाई पहिलो प्राथमिकतामा राखेर दावी भुक्तानीलाई छिटो र सहज बनाएको छ । आइएमई लाइफ व्यवसाय बढाउन पनि खप्पिस नै देखिएको छ । कम्पनीले व्यापार वृद्धिदर पनि निरन्तर आफ्नै गतिमा बढेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीको व्यापार ७.८२ प्रतिशत बढेको छ । यो गत माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित हो । चालु आवको ७ महिनामा कम्पनीले कुल २ अर्ब ५० करोड १९ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। तर, गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी २ अर्ब ३२ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

माघ मसान्तसम्ममा कम्पनीले नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) मार्फत ७६ करोड ७५ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समिक्षा अवधिमा नविकरण मार्फत भने कुल १ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । हाल कम्पनीसँग सक्रिय रहेको बीमालेखको संख्या ४ लाख २५ हजार २६६ छ । माघमा मात्रै कम्पनीले ११ हजार ४९० वटा बीमालेख जारी गरि कुल ३९ करोड ३३ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्