६ भदौ २०८३, शनिबार

एन आई सी एशिया बैंकमा ‘क्यास डिपोजिट’ सेवाको शुभारम्भ, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने



काठमाडौं । डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Deposit सेवाको सुचारु गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहक महानुभावहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहक महानुभावहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । यस मेसिनबाट रू.१,००० र रू.५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । एक जना ग्राहक महानुभावको खातामा एक पटकमा अधिकतम रू.९९,५०० गरी दैनिक अधिकतम रू.९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था छ । सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा OTP प्राप्त गर्नुहुन्छ र उक्त OTP मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ । बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ । नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने Cash Recycler मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।