बदमासी ओझेलमा पार्न घोराही सिमेन्टको टालटुले विज्ञप्ती, अपत्यारिलो विवरण देखाएर लगानीकर्ता डुबाउने खेल ! « Arthapath.com
८ असार २०८०, शुक्रबार

बदमासी ओझेलमा पार्न घोराही सिमेन्टको टालटुले विज्ञप्ती, अपत्यारिलो विवरण देखाएर लगानीकर्ता डुबाउने खेल !



काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आफ्नो कम्जोरी ओझेलमा पार्न टालटुले विज्ञप्ती जारी गरेको छ । कम्पनीले शुक्रबार विभिन्न राष्ट्रिय दैनिक पत्रिका मार्फत आफ्नो विज्ञप्ती जारी गरेको हो, जुन विज्ञप्ती मार्फत कम्पनीले आफ्नो कम्जोरी लुकाउन खोजेको देखिन्छ ।

घोराही सिमेन्टको आईपीओ निष्काशनमा अनियमिता भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन प्रक्रिया स्थगित गरिदिएको छ, त्यसको छानविनका लागि बोर्डले कार्यदल समेत गठन गरेको छ। हाल त्यो अनुसन्धानकै चरणमा छ । तर, कम्पनीले अन्नुसन्धानलाई समेत प्रभाव पार्नेगरि शुक्रबार विज्ञप्ती जारी गरेको हो ।

कम्पनीले आह्वान गरेको आईपीओमा सुरुकै म्यादमा माग भन्दा बढी आवेदन परिसकेको थियो । कम्पनीले असार १ गतेदेखि ४ गतेसम्मको पहिलो म्याद राखेर प्रिमियम मुल्य (प्रतिकित्ता ४३५) मा ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमा असार ३ गते नै ४ लाख ४५ हजार ८९० जना आवेदकबाट १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयरको लागि आवेदन परेको हो, जुन माग भन्दा २.४९ गुणा बढी आवेदन थियो । त्योअनुसार कम्पनीले असार ४ गते बैकिङ समय पश्चात निष्काशन बन्द गर्नुपर्ने हो । तर, कम्पनीले उल्टै म्याद थप गरेर असार १४ गतेसम्म आवेदन दिन पाइने सुचना निकाल्यो । मागअनुसार आवेदन परिसकेको अवस्थामा म्याद थप गर्न पाइदैन । त्योअनुसार यसमा कम्पनीको बदमासी रहेको प्रष्ट देखिन्छ ।

त्यसपछि बोर्डले असार ४ गते नै आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न पत्रचार गर्यो । सोहीअनुसार उक्त आईपीओ निष्काशन अहिले स्थगित भइसकेको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । तर, त्यसमा पनि पुरै सेयर बिक्री भएको थिए । त्यसबेला नबिकेका बाँकी सेयर समेत थपेर सर्वसाधारणलाई सेयर जारी गरिएको थियो ।

तर, यसमा कम्पनीकै पक्षबाट फर्जी आवेदन समेत परेको आशंका छ । आईपीओ निष्काशन हुने बेलासम्म कम्पनीको केही नकरात्मक पक्ष मिडियाहरुमा आइसकेको थियो । त्यसमाथि आईपीओको मुल्य नै महंगो थियो । त्योअनुसार कम्पनीको आईपीओ बिक्री हुँदैन कि भन्ने डर थियो । सोही अवस्थालाई दृष्टिगत गर्दै कम्पनीले आइपीओमा फर्जि आवेदन परेको देखाउन खोजेको पनि देखिएको छ ।

यो पनि पढ्नुहोस्: धिताेपत्र बाेर्डले रोक्यो घोराही सिमेन्टको आइपीओ

सीडीएससीका अनुसार उक्त आइपीओमा १३ जनाले १०/१० लाख कित्ताको दरले आवेदन दिएका थिए । त्योअनुसार १ करोड ३० लााख कित्ता सेयरमा आवेदन परिसकेको थियो, जुन माग भन्दा बढी हो । उक्त १३ जनाले दिएको आवेदनमा १० जनाको आवेदन अस्वीकृत भइसकेको छ । उनीहरुको खातामा आवश्कताअनुसार पैसा नभएपछि आवेदन अस्वीकृत भएको हो । यसरी फर्जी आवेदन दिएर सर्वसाधारणको आर्कषण बढाउन खोजेको, झुक्काउन खोजेको पनि देखिएको छ ।

यस्तै, केयर रेटिङ्ग नेपाल लिमिटेडले घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको रेटिङ पनि क्रेडिट रेटिङ्ग नियमावली विपरित भएको बताइएको छ । सोहीअनुसार बोर्डले केयर रेटिङ्ग नेपाललाई गत जेठ ३० गते नै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्रचार गरेको थियो । तर, त्यसबारे केयर रेटिङ्ग नेपाल लिमिटेडले अझै पनि कुनै पनि जवाफ पठाएको छैन । यसमा पनि कम्पनीको बदमासी रहेको आशंका छ ।

यो पनि पढ्नुहोस्: लगानीकर्तालाई डुबाउँदै घोराही सिमेन्ट, प्रिमियम मूल्यको पुनः मुल्यांकन गर्ने सीआईटीको तयारी

यस्तै, पछिल्लो समय नेपाली सेयर बजार घट्दो क्रममा देखिन्छ । तर, त्योबेलामा समेत कम्पनीले उच्च मुल्य राखेर सेयर बिक्रीमा ल्याएको छ । स्वयम कम्पनीको व्यवसाय पनि नमज्जाले घटेको बताइन्छ ।

त्यो अवस्थामा कम्पनीले अपत्यारिलो वित्तीय विवरण बनाएर लगानीकर्तालाई डुबाउन खोजेको चर्चा समेत छ । यस्ता बिषयमा कम्पनीको बदमासी भएको देखिन्छ । तर कम्पनीले आफ्नो बदमासी लुकाउन विज्ञप्ती जारी गरेर चोखिन खोजेको छ ।

यस्तो शुक्रबार जारी विज्ञप्ति

घोराही सिमेन्ट इन्डष्ट्रि लि.को
प्रेस विज्ञप्ती
घोराहि सिमेन्ट ईण्डष्ट्रि लि.को प्रिमियम मूल्यमा आई.पि.ओ.(IPO) मा शेयर निष्काशनको खुल्ला अवधि भित्र उद्योगको व्यावसायिक प्रतिष्ठा र ख्याति माथी नकारात्मक असर पुयाउने उद्धेश्यले प्रेषित भ्रमपूर्ण र गलत सूचना प्रवाह प्रति यस उद्योगको गंभिर रुपमा ध्यानाकर्षण भएको छ । बदनियतपुर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण बिषयहरुको बारेमा पूर्ण पारदर्शि रुपमा स्पष्ट पार्न यस उद्योग सदा तत्पर रहेको ब्यहोरा अनुरोध छ ।

शेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत बिभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता रहेको हुन्छ । निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ्ग प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन उद्योग सदैब तत्पर छ । धितोपत्र बोर्डद्धारा स्वीकृत भए पश्चात निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानिय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रकृया सम्पन्न गरि शेयर बाँडफाँड भईसकेको अवस्था छ । सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजानिक निष्काशन स्थगन गर्ने पत्रमा घोराहि सिमेन्टलाई बोधार्थ मात्र दिईएको छ ।

क्रेडिट रेटिङ्ग प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रबर्धकहरुको तर्फबाट प्रभावित पारेको हुन सक्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्न चाहन्छौं । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग सम्बन्धमा सम्बन्धित क्रेडिट रेटिङ्ग कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुठा आवेदनको सम्बन्धमा कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरि तत्काल नै रोकिन गएको शेयरको सार्वजनिक निष्कासनको प्रक्रिया सुचारु गर्नेमा उद्योग विश्वस्त छ ।

अमुल्य विदेशी मुद्रा संचिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि ३००० भन्दा बढी जनशक्तीलाई रोजगारी प्रदान गर्दै आएको पुर्ण रुपमा स्वदेशी लगानीकर्ताहरुबाट प्रवद्र्धित देशकै ठुलो मध्ये एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा सम्लग्न लगानी विरोधि समूह तथा सो समुहबाट प्रायोजित कार्य तथा समाचार प्रति उद्योग खेद व्यक्त गर्दछ । यस उद्योगमा लगानी गर्ने शेयरहोल्डर, आवेदनकर्ता, तथा सम्बन्धीत सबैको लगानी सुरक्षाको प्रत्याभुतिको लागि उद्योग पुर्ण रुपमा प्रतिवद्ध छ । स्वदेशी लगानी तथा औद्योगिक क्षेत्रमा सर्वसाधारणको हिस्सेदारी अभिवृद्धि गर्ने कार्यमा सहयोग पुर्‍याउन नियामक निकाय, पत्रकार, लगानिकर्ता लगायत सम्पूर्णमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं । साथै उद्योग प्रति विश्वास गरि लगानीको लागि आवेदन गर्ने सम्पूर्ण लगानीकर्ताहरुमा पर्न गएको असुविधा प्रति उद्योग क्षमाप्रार्थी छ ।

घोराहि सिमेन्ट इन्डष्ट्रि लिमिटेड
ट्रेड टावर, थापाथली
काठमाण्डौं ।


प्रतिक्रिया दिनुहोस्