‘ऋण नतिर्ने बाहानामा अराजक गतिविधि गर्न पाइदैन, बैंक कर्मचारीको सुरक्षा कायम गरियोस्’: संयुक्त संघ « Arthapath.com
११ असार २०८०, सोमबार

‘ऋण नतिर्ने बाहानामा अराजक गतिविधि गर्न पाइदैन, बैंक कर्मचारीको सुरक्षा कायम गरियोस्’: संयुक्त संघ



काठमाडौं । नेपाल बैंक तथा वित्तीय संस्थाहरुको चार संयुक्त संगठनले ऋण नतिर्ने बाहानामा अराजक गतिविधि गर्ने कारवाही गर्न माग गरेका छन् ।

सोमबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोधप्रति संयुक्त संगठनले घोर निन्दा गरेको छ । यसका साथै कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गराएको संघले जनाएको छ । सो विषयमा विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी/ग्राहकको सुरक्षाको माग गरेका छन् ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्‍याउन दिनुपर्ने कानुनी प्रवादन छ । सो प्रयोजनका लागि कुनै पनि तत्वहरुले बाधा पुर्‍याएको खण्डमा सो गैर–कानूनी हुने संयुक्त संगठनले जनाएको छ ।

ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्‍याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम दिनुपर्ने उनीहरुको माग छ । संयुक्त विज्ञप्तिमा भनिएको छ,–‘ऋण लिए पछि तिर्नु पर्छ । ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनुपर्छ । शान्ति/सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा गरियोस् ।’

आगामी दिनमा यस्ता प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा त्यस विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने संयुक्त संगठनले चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्