मिडियामा चर्को आलोचना भएपछि पोखरेलका सम्धीको पदभार ग्रहण रोकियो (उपप्रधानमन्त्री पोखरेलको विज्ञप्तीसहित) « Arthapath.com
१० भाद्र २०७७, बुधबार

मिडियामा चर्को आलोचना भएपछि पोखरेलका सम्धीको पदभार ग्रहण रोकियो (उपप्रधानमन्त्री पोखरेलको विज्ञप्तीसहित)



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको नवनियुक्त अध्यक्ष प्रा. डा. उपेन्द्र कोइरालाको बुधबार पदभार ग्रहण गर्ने कार्यक्रम थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी नाता पर्ने उपेन्द्र कोइरालालाई सरकारले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा चयन गर्ने योजना अन्तत बुधबारको लागी तुहिएको छ ।

मंगलबार अर्थपथसँग कुरा गर्दै राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले बुधबार बोर्डको बैठक बस्ने र कोइरालालाई संचालक समितिले अध्यक्ष चयन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर एकाएक मिडियामा उपप्रधानमन्त्रीको सम्धी भएकाले वाणिज्य बैंकको अध्यक्ष बनाइन लागेको भन्दै तिव्र आलोचना भएपछि बुधबारलाई बाणिज्य बैंकको संचालक समिति बैठकनै बसेन ।

सीईओ श्रेष्ठले बैंकको कहिले बैंठक बस्ने भन्ने कुनै टुङ्गो नभएको बताए । मंगलबार र बुधबार मिडियाको साथै सामाजीक संजालमा पोखरेल र कोइरालाको संबन्ध जोडेर समाचार आएपछि बाणिज्य बैंकको बैठकनै बस्न सकेन । सरकारले कोइरालाको पक्षमा विवाद भएपछि अर्को निर्णय लिन्छकी भनेर बाणिज्य बैंक पछि हटेको हुनसक्ने अडकल काटिएको छ ।

पोखरेल सरकारका बरिष्ठ मन्त्री भएका बखत सत्ताको दुरुपयोग गर्दै नातेदारलाई नियुक्ती गरिएको भन्दै सामाजीक सञ्जालमा विरोध भएको छ । यसप्रति मन्त्री पोखरेलले आफ्नो नाम जोडेर समाचार आएको भन्दै खण्डन गरेका छन । पोखरेलले आफुले कुनै दवाव नदिएको बताए । उपप्रधानमन्त्री पोखरेलले आफ्नो नाताबाट कुनै दुरुपयोग नभएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्