१९ भदौ २०८३, शुक्रबार

सीएसआर खर्चबारे राष्ट्र बैंकको नयाँ नियम, अब बैंकहरुले कहाँ-कहाँ खर्च गर्न पाउँछन् ?



काठमाडौं । बैंकले कमाउने नाफा केवल लाभांश बाँड्न वा पूँजी बढाउन मात्रै होइन । समाजलाई प्रत्यक्ष फाइदा पुर्‍याउन पनि प्रयोग सदुपयोग गर्नुपर्ने भएको छ ।

त्यसका लागि नेपाल राष्ट्र बैंकले संशोधित संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी (सीएसआर) व्यवस्था मार्गदर्शन–२०८२ जारी गरेको छ । मार्गदर्शन अनुसार बैंकहरुले आफ्नो वार्षिक खुद नाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोषमा अनिवार्य जम्मा गर्नुपर्नेछ ।

यो रकम बैंकहरुले शिक्षा, स्वास्थ्य, दिगो विकास, वित्तीय साक्षरता, वातावरण संरक्षण लगायतका क्षेत्रमा लक्षित गरी खर्च गर्नुपर्नेछ । सीएसआरलाई प्रभावकारी र पारदर्शी बनाउन संशोधित मार्गदर्शनले केही नयाँ प्रावधान थपेको छ । बैंकहरुलाई नाफा कमाउने मात्र नभई समाजलाई उत्थान गर्ने जिम्मेवार साझेदार बनाउन केही व्यवस्था संशोधन गरेको हो ।

अब बैंकले के गर्नै पर्ने ?

अब बैंकहरुले नाफाको १ प्रतिशत रकम सीएसआर कोषमा राख्नुपर्नेछ । जम्मा भएको रकममध्ये हरेक वर्ष कम्तीमा ६० प्रतिशत खर्च गर्नुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ । यसका साथै खर्चिने रकमको कम्तीमा १० प्रतिशत रकम प्रत्येक प्रदेशमा कम्तीमा १० वितरण गर्नुपर्नेछ ।

खर्चबारे विस्तृत वार्षिक योजना बनाउने र राष्ट्र बैंकमा प्रतिवेदन बुझाउने पर्नेछ । विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

कुन कुन क्षेत्रमा खर्च गर्न पाइन्छ ?

निर्देशनले सीएसआर खर्चलाई विशेषगरी गरीब, पिछडिएका र विपन्न वर्गमा केन्द्रित गर्न भनेको छ ।

मुख्य शिक्षा, स्वास्थ्य, मानवीय सहायता, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य लायतका क्षेत्रमा खर्च गर्नुपर्नेछ । शिक्षा अन्तर्गत सरकारी विद्यालय सुधार, छात्रवृत्ति, डिजिटल सामग्री, उच्च शिक्षाका लागि रिसर्च ग्रान्ट रहेका छन् ।

यस्तै, स्वास्थ्य तर्फ सरकारी अस्पताललाई उपकरण, नि:शुल्क उपचार सहयोग, स्वास्थ्य शिविर, अपाङ्गता भएका व्यक्तिलाई सामग्रीमा खर्चिनुपर्नेछ ।

यता, मानवीय सहायता तर्फ विपद् प्रभावितलाई राहत, वृद्धाश्रम र अनाथालयलाई सहयोग, पोषणयुक्त खाद्यान्न, वातावरण तर्फ फोहोर व्यवस्थापन, सोलार/बायोग्यास जस्ता वातावरणमैत्री परियोजनामा खर्च गर्न सक्नेछन् ।

वित्तीय साक्षरता तर्फ भने डिजिटल बैंकिङ, नगदरहित कारोबार, सीपमूलक तालिम संचालनका लागि खर्चिन सक्नेछन् । यसका साथै संयुक्त राष्ट्रसंघले तोकेको २०१६–२०३० का लक्ष्य हासिल गर्न सहयोग गर्न पनि सक्नेछन् ।

केन्द्रिय बैंकका अनुसार बैंकहरुले खेलकुद, आवास, महिला तथा बालबालिकाका लागि पूर्वाधार निर्माणमा गर्न सक्ने तोकेको छ ।

कुन क्षेत्रमा खर्च गर्न पाइँदैन ?

तर, केन्द्रिय बैंकले केही गतिविधिलाई सीएसआर अन्तर्गत प्रतिबन्ध लगाएको छ । ब्रान्ड प्रमोशन, स्पोन्सरसिप वा मार्केटिङ अभियानमा भने यस्तो रकम खर्च गर्न पाइने छैन् ।

यस्तै, राजनीतिक क्रियाकलाप वा पार्टीसँग जोडिएका खर्च, नाफामूलक वा शुल्क लिएर गरिने काममा पनि खर्च गर्न पाइदैन ।
यता, ठूला भौतिक पूर्वाधार आयोजना, सञ्चालक समिति वा कर्मचारी लाभका नाममा हुने खर्चमा पनि रोक लगाएको छ ।

विस्तृतमा हेर्नका यहाँ क्लिक गर्नुहोस्