२४ भदौ २०८३, बुधबार

कक्षा १२ को परीक्षा विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा : निर्णय नहुदा विद्यार्थी अन्योलमा



काठमाडौं । नोभल कोरोना भाइरस कोभिड– १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले संक्रमणको जोखिम उच्च भएमा परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिई आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५० र ५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव पेश गरेको थियो ।
हालसम्म राष्ट्रिय परीक्षा बोर्डले पेश गरेको सुझावको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थीको भविष्यनै अन्योलमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गरेको सुझावको निर्णय नहुदा दसैं अघि परिक्षा हुने सम्भावना कम भएको र दसैंपछि हिमाली जिल्लामा परीक्षा गराउन झन कठिन हुने शिक्षा विद्धहरु बताउँछन ।

यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०र५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ ।हालको अबस्थामा ४० नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा ९ओपन बुक एक्जाम हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन ।

कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरूपमा परीक्षा गराउने पक्षमा आफूहरू रहेको केही दिनअघि एक कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका थिए।