२४ भदौ २०८३, बुधबार

दशैंमा दशाः गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते



काठमाडौं । दशैं मनाउनका लागि यात्रु बोकेर घर गईरहेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु र ३ जना घाइते भएको छ ।

सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा ५ जनाको मृत्यु भएको हो भने दुर्घटनामा तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ गईरहेको बा२०प ७१७१ नम्बरको स्करपियो भिरबाट खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ भने मृत्यु हुने अन्यमा अन्दाजी ३०–३५ वर्षका २ जना पुरुष र १ महिला रहेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।