२४ भदौ २०८३, बुधबार

तस्करीका लागि तयारी गरेको ९० बोरा मटर बरामद



काठमाडौं । चोरि तस्करीका लागि राखिएको ९० बोरा मटर प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैध रूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर शनिबार राति बरामद गरिएको हो ।

जिल्लाको सीमानाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१० मरुवाही गाउँमा सञ्चालित रामजानकी जेनरल स्टोर्समा ९० वटा बोरामा राखिएको २२ क्विन्टल ५०० किलोग्राम मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ठूलो मात्रामा मटर तस्करी हुने योजना रहेको विशेष सुराकीको आधारमा प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो जेनरल स्टोर्समा शनिबार राति छापा मार्दा साढे २२ क्विन्टल मटर बरामद गरिएको जनाइएको छ ।