भूकम्पमा परी पुरिएकी बालिकाको बरिव ४ दिनपछि जीवित उद्धार
काठमाडौं । टर्कीमा ७ रेक्टर स्केलको गएको भूकम्पमा १ सय २ व्यक्तिले ज्यान गुमाएका छन् । तर ४ वर्षीया बालिकाको भूकम्प गएको ९१ घन्टापछि सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले एक भवनको भग्नावशेषबाट बालिकालाई उद्धार गरेको स्थानीय एजेन्सीहरूले जनाएका छन् ।
भग्नावशेष पन्छाउने क्रममा उद्धार टोलीले आयदा नाम गरेकी ती बालिकालाई सकुशल बाहिर ल्याएको हो । उद्धार टोलीले यस घटनालाई भगवानको वरदान भनेको छ । आयदा भग्वावशेषभित्र जोखिमपूर्ण अवस्थामा थिइन् ।
उनलाई उद्धार गर्न टोलीले विशेष सावधानी अपनाएको थियो । आयदालाई तत्कालै एम्बुलेन्सको सहयोगमा अस्पताल पुरÞ्याइएको छ । उद्धार टोलीकी एक सदस्य नुसरत अक्योसले भित्रबाट एक बच्चा रोइरहेको र चिच्याइरहेको सुनेको बताइन् । त्यसपछि त्यहाँ बच्चा जीवित रहेको अनुमान लगाउँदै उद्धार कार्यमा जुटेको नुसरतले बताइन् ।
सोमबार मात्र यसै उद्धार टोलीले एउटा भत्केको भवनबाट ३ वर्षीया बालिकाको उद्धार गरेको थियो । ३० अक्टोबरमा आएको भूकम्पले टर्कीमा अहिलेसम्म ९ सय ९४ जना व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूले पाँच भवनमा जीवित व्यक्ति रहेका जनाएकाले उद्धार टोली त्यसतर्फ लागेका छन् । आपतकालीन अवस्थाका लागि सरकारले ३५ सय टेन्ट लगाएको छ । यहाँ १३ हजार ओछ्यानको बन्दोबस्त गरेको छ ।













