२५ भदौ २०८३, बिहिबार

छोरीहरुले जन्मेदेखि खातामा मासिक १०० रुपैयाँ पाउने



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा छोरीहरुले जन्मेदेखि खातामा माशिक १ सय रुपैयाँ पाउने भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी योजना सार्वजनिक गरेको हो । यो योजनामार्फत गत साउन १ गतेपछि जन्म भएका छोरीका लागि बैंक खातामा रकम जम्मा गरिदिने भएको छ ।

छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना एक सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गर्ने गरी कार्यपालिकाको ९५औँ बैठकले कार्यविधि पारित गरेको हो । ‘स्मार्ट छोरी, बिहेवारी २० वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो लागू हुने भएको छ।

यो सुविधा लिनका लागि छोरी जन्मिएको ३५ दिनभित्रमा अभिभावकले बालिकाको जन्मदर्ता गराएको हुनुपर्ने, बंैकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

जन्मेको पहिलो महिनामा १ हजार २ सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सय रुपैयाँका दरले खातामा रकम जम्मा हुने छ । बालिका २० वर्ष पुगेपछि एकमुष्टरूपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ । बालिकाको नाममा खोलेको उक्त खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।