२५ भदौ २०८३, बिहिबार

नेपालको अनुमानित जनसंख्या ३ करोड, ७० लाख घरपरिवार



काठमाडौं । वि.स. २०७८ मा हुनलागेको राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या ३ करोड र परिवारको संख्या ७० लाख हुने प्रारम्भिक अनुमान गरिएको छ । जनगणना गर्ने प्रमुख निकाय तथ्यांक विभागले प्रारम्भिक अनुमानका आधारमा उक्त तथ्यांक निकालिएको हो ।सोमबार भएको एक कार्यक्रममा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आगामी जनगणनामा मुलुकको जनसंख्या ३ करोड र ७० लाख परिवार आउने अनुमान गरिएको बताए ।

नेपालको १२ औँ जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदै छ। यस जनगणनामा ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गरिँदै छ । यस जनगणनामा पहिलोपटक घर स्वामित्वसम्बन्धी विस्तृत तथ्यांक संकलन गर्न लागिएको श्रेष्ठले बताए। जसअनुसार घरको स्वामित्व, प्रयोग, संचरनाबारे तथ्यांक संकलन गरिनेछ ।

त्यस्तै, जनगणनामा परिवारले उपभोग गरेका सुविधाहरु खानेपानी, चर्पी, खाना पकाउने इन्धन, बत्ती, टेलिभिजन, फोन, सवारीसाधनको पनि लगत राखिनेछ । महिलाको नाममा भएका घर तथा जग्गाको पनि छुट्टै तथ्यांक राखिनेछ ।

जनगणनाअन्तर्गत कृषिबाहेक तलबी कामदार नराखेका तथा सरकारी निकायमा दर्ता नभएका साना घरेलु व्यवसायहरुको पनि तथ्यांक संकलन गरिनेछ । यस जनगणनाले विदेशमा रहेका परिवारमा अनुपस्थित व्यक्तिको विवरण, आर्थिक काम, पेशा र वस्तु वा सेवाको उत्पादनअनुसारको विवरण संकलन गरिनेछ ।

त्यस्तै व्यक्तिको काम गर्दाको हैसियत, संस्थागत क्षेत्र, काम नगर्नुका कारण र कामको खोजी बारेमा पनि तथ्यांक संकलन गरिनेछ । यस जनगणनाबाट सामुदायिक प्रश्नावलीका रुपमा वडास्तरको तथ्यांक संकलन पनि गरिँदै छ । वडा राजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषिजन्य उत्पादन र निकासीको अवस्था, वडाहरुको आफ्नो आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा सुविधामा पहुँच सम्बन्धी विवतरणहरु र विपद्सम्बन्धी विवरण पनि संकलन गरिँदै छ ।