माउन्टेन इनर्जी नेपालको आइपीओ आजदेखी निष्काशन
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले बुधबारदेखी आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्काशन गर्न अनुमति पाएपछि आजदेखी बिक्री खुला भएको हो । निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्ने छन् ।
सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि १ सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर निष्काशन गरेको थियो । लगानीकर्ताले आईपीओमा छिटोमा मंसिर २ गते मंगलबार र ढिलोमा मंसिर १० गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।













